तीन जिल्लामा छुट्टाछुट्टै दुर्घटना, चार जनाले गुमाए ज्यान


काठमाडौं । 

धादिङ, अर्घाखाँची र कपिलवस्तुमा सोमबार साँझ भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

धादिङको थाक्रे गाउँपालिका–७ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा अर्को मोटरसाइकल चालक घाइते भई काठमाडौं पठाइएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक १८ वर्षीय गौतम विक र २४ वर्षीय सागर विकको उपचारका क्रममा मृत्यु भएको छ। सोही दुर्घटनामा घाइते एक जनालाई पाल्पा रिफर गरिएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवनगरमा अटो ठोक्किँदा ३५ वर्षीय विष्णु अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ। सो दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ।

तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।