माओवादी–समाजवादीसहित आठ दलले गरे एकताको सहमति

यद्यपि माओवादी चोइटियो, समाजवादी फुट्यो


काठमाडौं।

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिस्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । यद्यपि, माओवादी केन्द्रका केही नेताहरूले पुरानै पार्टीलाई पुनर्गठन गर्ने तयारी गरेसँगै माओवादी केन्द्र भने चोइटिएको छ । माधव नेपालको एकीकृत समाजवादी भने प्रष्ट रूपमा फुटेको छ । ती दलहरू सग्लै रूपमा एकताबद्ध हुन भने सकेनन् । टुटफुटका बीच एकता भएको पाइएको छ ।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रवार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिस्टहरूसँग एकता गर्ने निर्णय शनिवार गरेको थियो ।