काठमाडौं ।
चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित एक निजी घरमा पैसाको हारजित हुनेगरी कौडा खेलकुद (जुवातास) सञ्चालन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट करिब एक लाख २९ हजार पाँच सय रुपैयाँ नगदसहित सट्टेबाजीका सामग्री बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार शनिबार राती २ बजेतिर सरिता गिरीको चार तले घरको भुईँतलामा लुकाइराखिएको कोठामा जुवातास चलिरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । प्रहरीले उक्त कोठामा छापा मार्दा १६ थान कौडा, नगद रकम र खेलमा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामध्ये घरधनी सरिता गिरी (४४ वर्ष) सँग नगद रकम फेला परेन । त्यसैगरी, राजु लामा (३२ वर्ष), मकवानपुर थाहा नगरपालिका–१२ स्थायी ठेगाना, हाल चन्द्रागिरी–३ बसोबास – २,०००, नारायण अधिकारी (३६ वर्ष), धादिङ गल्ची–४ स्थायी ठेगाना, हाल चन्द्रागिरी–३ बसोबास – १,०००, मिलन तमाङ (३१ वर्ष), धादिङ धुनिबेसी–६ स्थायी ठेगाना, हाल चन्द्रागिरी–६ बसोबास – १,१०,५००, शनि खड्का (३४ वर्ष), काठमाडौं–७ स्थायी ठेगाना – नगद फेला परेन,
सम्राट स्याङ्तान (२७ वर्ष), मकवानपुर थाहा–१२ स्थायी ठेगाना – १६,००० बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कौडाको खालमै भेटिएको नगद ४२,५५० सहित, खेलमा प्रयोग भएका १६ थान कौडा, र ती व्यक्तिहरूको साथबाट फेला परेको १,७२,०५० गरी जम्मा करिब २,१४,६०० बराबरको नगद र सामग्री बरामद गरेको जनाएको छ ।
थप अनुसन्धानका लागि सबै पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त थानकोटको नियन्त्रणमा राखिएको छ । प्रहरीले उनीहरूविरुद्ध जुवातास (नियन्त्रण तथा सजाय) ऐन, २०३३ अनुसार कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
थानकोट प्रहरीका एक अधिकारीका अनुसार, स्थानीयवासीको सहयोगमा गरिएको उक्त कारबाहीले क्षेत्रभित्र गुप्त रूपमा सञ्चालन भइरहेका सट्टेबाजी गतिविधिमा नियन्त्रण गर्ने सन्देश दिएको छ ।











प्रतिक्रिया