नर्सहरूको तलबबारे सहमति, ज्योति समूह असन्तुष्ट


काठमाडौं ।

लामो समयदेखि आन्दोलनरत नर्सहरूले उठाएका मागमध्ये तलबसम्बन्धी मुख्य विषयमा सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रवारदेखि शनिवार रातीसम्म भएको वार्ताबाट नर्सहरूलाई दिने पारिश्रमिक दरबारे ठोस सहमति जुटेको हो ।
शनिवार वार्तामा भएको सहमतिअनुसार निजी मेडिकल कलेजहरूले नर्सहरूलाई मासिक ३४ हजार, ७३० रुपियाँ तलब दिने भएका छन् । त्यस्तै, निजी अस्पतालहरूले उक्त दरको कम्तीमा ८० प्रतिशत तलब अर्थात् करिब २७ हजार ७८४ दिनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रियाहरू छिट्टै अघि बढाइने जनाएको छ ।नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माका अनुसार सहमति पत्रमा स्वास्थ्य मन्त्री सुधा शर्मा, सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, निजी मेडिकल कलेज संघका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की र निजी अस्पताल सञ्चालकहरूको संस्था (अफिन) का अध्यक्ष डा. पदम खड्कालगायतले हस्ताक्षर गर्नुभएको छ ।

तर, ज्योति रानाभाट नेतृत्वको आन्दोलनरत नर्सहरूको अर्को समूह भने यो सहमतिमा असहमति जनाउँदै वार्ताबाट बाहिरिएको छ ।