एमालेको महाधिवेशन स्थल  परिवर्तन    

6.3k
Shares

भक्तपुर ।

नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरी पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने भएको छ ।

यसअघि पोखरामा हुने तय भएको भए पनि आज गुन्डुमा  बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँमा सारेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।महाधिवेशन निर्धारित समय मंसिर २७ देखि २९ मै हुने उनले बताए।

एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

पार्टी उपमहासचिव ज्ञवालीले महाधिवेशनका लागि ६ लाख ६७ हजारभन्दा बढी पार्टी सदस्यहरूबाट प्रतिनिधि चयन गरिने पनि बताए ।

१२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन्। एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको उनले बताए ।

यस्तै, बैठकले प्रतिनिधिसभा पुनः स्थापनाका लागि दबाब स्वरूप मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको छ । 

उपमहासचिव ज्ञवालीले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि वडादेखि केन्द्रसम्म जनपरिचालन गर्ने निर्णय बैठकले गरेको बताए ।

पार्टीले दबाब कार्यक्रम स्वरूप कात्तिक २१ गते देशभरका वडा, कात्तिक २५ गते पालिकाहरूमा जनसभा तथा प्रदर्शन गर्ने, कात्तिक २९ गते जिल्ला र मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए  ।