जनकपुरधाम ।
मैथिली विकास कोष जनकपुरधाम र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भाई बहिनीको प्रेमको प्रतिकको रुपमा मनाइने ‘सामा चकेवा’ पर्व मनाउन प्रयोग गरिने मूर्तिहरुको निर्माणको प्रशिक्षणका लागि ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरू गरिएको छ ।

जनकपुरधाम स्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा आयोजित पांच दिने सो कार्यशालाको उद्घाटन सत्र कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षता तथा इङ्ग्ल्यान्ड निवासी मधेश विषयका अनुसन्धानकर्ता माईकल हट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन सत्रमा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला र संस्कृतिसँग आधुनिकतामा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
कार्यशालाका प्रमुख अतिथि माईकल हट्टले मिथिला क्षेत्रको परम्परागत सांस्कृतिक पहिचान झल्काउने सामा–चकेवाजस्ता पर्वले सामाजिक सम्बन्ध सुदृढ बनाउन सक्ने भएकाले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावना रहेको बताउनु भयो । उहाँले स्थानीय कलाकारहरूका सीप र सिर्जनशीलतालाई विश्वस्तरमा प्रवद्र्धन गर्न अध्ययन र अभिलेखीकरण गर्न जरुरी रहेकोमा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँग समनव्य आवश्यक रहेको थप्नु भयो ।
‘सामा–चकेवा हाम्रो मिथिलाञ्चलको सांस्कृतिक सम्पदा रहेको अध्यक्ष चौधरीले भन्दै भयो ‘यसले दिदीबहिनी र भाइबीचको प्रेम, आत्मीयता र सामाजिक एकताको सन्देश दिन्छ । यो परम्परा मात्र उत्सव नभइ हाम्रो पहिचानको जरा हो ।’ उहाँले मैथिली विकास कोषले स्थानीय कलाकार, युवापुस्ता र विद्यार्थीहरूलाई परम्परागत मूर्तिकला र मिथिलाकला सिक्न प्रेरित गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिनु भयो ।
कार्यशालामा उपस्थित अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरू मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यशालाको क्रममा सहभागीहरूले सामा–चकेवा पर्वसँग सम्बन्धित विभिन्न मूर्तिहरूको निर्माण अभ्याससमेत गर्नु भएको थियो । सो कार्यशालाको मूर्ति निर्माण प्रशिक्षमा स्थानीय विद्यालयका विद्यालयका विद्यार्थी, युवा तथा महिलाहरुको सहभागिता रहेको छ । कार्यशालामा सामा चकेवामा प्रयोग गरिने सतभैया, चुगला (झगडा लगाउने व्यक्ति), सामा, चकेवा, गौरी शंकर, बिहे भएको छोरी÷बहिनीको ससुरालीमा पठाइने पाहुरको भाडा बर्तन लगायतका दर्जनौ मूर्ति बनाउने सिकाइदैछ ।
भाई बहिनीको प्रेमको प्रतिकको रुपमा रहेका बहिनीहरुले भाईको दिर्घायुका लागि सामा चकेवा पर्व मनाउने गर्छन । कात्तिक शुक्ल पंचमीदेखि शुरु भई कात्तिक पूर्णिमासम्म मनाइने सामा चकेवा पर्वमा दिदी बहिनीहरुले बांस वा सिकीको बनेको डालामा सामा चकेवा सहितका बनाइएका मूर्तिहरु राखेर रातिको समयमा भेला भई गीत गाउंदै डाला घुमाउंदै मनाउने गर्छिन । यस पर्वको महत्वपूर्ण आकर्षण चुगलाको मुख दियोबाट निस्किने राईसमा जलाउंदै कालिख पोत्ने हो ।
अन्तिम दिनमा चुगलासहित अन्य खलनायकहरुको मूर्ति भाई खुट्टाको घुटनामा फोड्ने गर्छन भने प्रयोग हुने सबै पात्रको मूर्ति सामालाई पाहुरसहित विदाई गरिन्छ । विदाई भनाले धान काटिएका खेत वा नदीमा विर्सजन गर्ने गरिन्छ ।











प्रतिक्रिया