एमाले सचिवालय बैठक सुरु, महाधिवेशन तयारी र निर्वाचनबारे छलफल


काठमाडौँ ।

नेकपा (एमाले)को सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ। बैठकमा मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीबारे प्रारम्भिक रिपोर्टिङ भइरहेको छ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको तयारी अवस्थाबारे बैठकमा जानकारी दिने तयारी गरेका छन्। बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्ने सम्भावना छ।

त्यस्तै, बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधि संख्या, छनोटको आधार लगायतका विषयमा छलफल भइरहेको छ। साथै सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन र पछिल्ला राजनीतिक घटनाक्रमसमेत बैठकको एजेन्डामा रहेका छन्।