निर्णायक बार्ताको तयारी : आन्दोलनरत नर्स र मन्त्रालयबीच दोस्रो चरणको वार्ता जारी


काठमाडौं।

निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको आन्दोलनकाबीच आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दोस्रो चरणको निर्णायक बार्ता सुरु भएको छ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिवद्वय डा. विकास देवकोटा र डिल्लीराम शर्मासहित मन्त्रालयका उच्च अधिकारी, निजी अस्पताल तथा मेडिकल कलेजका प्रतिनिधि, नर्सिङ परिषद्, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखा, नर्सिङ संघ तथा आन्दोलनरत नर्सका प्रतिनिधिहरूको उपस्थितिमा वार्ता सुरु भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार, “आजको बैठकले निस्कर्ष निकाल्ने हाम्रो जोड पनि हो।”यसअघि आज विहान एक चरणको छलफल सम्पन्न भइसकेको थियो। त्यसपछि आन्तरिक परामर्शका लागि निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि, निजी अस्पताल सञ्चालक तथा नर्सिङ संघका प्रतिनिधिहरू बाहिरिएका थिए। बेलुका पुनः मन्त्रालयको ताकेतामा सबै पक्ष दोस्रो चरणको निर्णायक छलफलका लागि पुनः बसेका छन्।

आन्दोलनरत नर्सहरूले निजी अस्पताल तथा मेडिकल कलेजमा आफूहरूलाई सरकारी नर्स सरह तलब दिनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले स्टाफ नर्सको तलब स्केलअनुसार रु. ३४ हजार ७३० रुपैयाँ निर्धारण गर्नुपर्ने माग अघि सारेका छन्।

निजी अस्पताल र मेडिकल कलेजका सञ्चालकहरूले भने नर्सहरूको माग पूरा गर्नु अघि राज्यले निजी स्वास्थ्य क्षेत्रका केही समस्याहरू समाधान गर्नुपर्ने अडान लिएका छन्।

नर्सहरूले आफ्नो माग पूरा गर्न दबाब स्वरूप विगत केही दिनदेखि दैनिक दुई घण्टा (विहान १० देखि १२ बजेसम्म) आकस्मिकबाहेक सेवा बहिष्कार गर्दै अस्पताल परिसरमा धर्ना दिँदै आएका छन्।

मणिपाल मेडिकल कलेजबाट सुरु भएको यो आन्दोलन अहिले देशभरका निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा फैलिएको छ।
मन्त्रालयले आजको बार्ताबाट सहमतिको मार्ग निकाल्ने अपेक्षा गरेको छ।