राजदूत फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ


काठमाडौं ।

सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ तय भएको हो।

अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय असंवैधानिक भएको दाबी गरिएको छ।

गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीन, अमेरिका, जापान, बेलायत, जर्मनीलगायत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। रिटदाताले सो निर्णय तत्काल कार्यान्वयन नगर्न र नगर्न दिन परमादेश माग गरेका छन्। साथै, राजदूत फिर्ता गरेपछि कूटनीतिक ‘भ्याकुम’ सिर्जना हुने खतरा रहेको पनि उल्लेख गरिएको छ।