कांग्रेसमा विवाद चुलियो

सबै दलमा नेतृत्व फेर्न तीव्र दबाब

470
Shares

काठमाडौं ।

जेन–जी आन्दोलनले देशको राजनीतिक नक्सा हल्लाएपछि अब ठूला राजनीतिक दलहरू नेतृत्व रूपान्तरण र पुस्तान्तरणको दबाबमा परेका छन् । फागुन २१ मा हुने आमनिर्वाचनको तयारीसँगै दलहरू महाधिवेशन केन्द्रित बनेका छन् । विघटित प्रतिनिधिसभाका पाँच ठूला दल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला आन्तरिक रूपमा ‘नेतृत्व फेर्ने कि दोहोरिने’ बहसमा छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै कार्यवाहकका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिनुभएको छ । तर, पार्टीभित्र देउवाले बिदा लिने कि पुनः सक्रिय हुने भन्ने अनिश्चितता कायमै छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै डा. शेखर कोइरालाको समूहले मंसिरमै महाधिवेशन गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने माग गरेका छन् । थापाले मंसिर २७–२९ का लागि प्रस्ताव पेस गरिसकेका छन् ।

महामन्त्री थापाले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । पार्टीको नवीकरण र विश्वसनीयता पुनःस्थापना महाधिवेशनमै निर्भर हुने बताउनुभएको छ । तर, संस्थापन पक्षले त्यसलाई असम्भव बताउँदै चुनावपछि वैशाखमा मात्रै सम्भव भन्ने अडान लिएसँगै विवाद चुलिएको छ । देउवा निकट नेताहरूका अनुसार सभापतिले चुनावअघि टिकट बाँड्ने अधिकार आफूले नै राख्ने मनस्थिति बनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो– ‘महाधिवेशन भनेको खेल होइन । विधि र प्रक्रिया पूरा गर्न समय चाहिन्छ । अब डेढ महिना बाँकी छ, मंसिरमा गर्न कठिन छ ।’

देउवा बिदा भएपछि पार्टी नेतृत्वका प्रमुख दाबेदारका रूपमा कार्यवाहक सभापति खड्का, महामन्त्री थापा र डा. कोइराला मैदानमा देखिएका छन् ।
नेकपा एमालेले मंसिर २७–२९ सम्म ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सदस्यता नवीकरण टुंगिएको र महाधिवेशन प्रतिनिधि छनोटको तयारी अन्तिम चरणमा पुगेको छ । तर, पार्टीभित्र अध्यक्ष केपी ओलीलाई नेतृत्व छाड्न माग तीव्र बनेको छ । सचिवालय र केन्द्रीय बैठकमा दोस्रो पुस्ता अघि ल्याउने आवाज उठेको छ ।

जेन–जी आन्दोलनपछि माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, अहिले पार्टी एकीकृत समाजवादीसँग एकता पहलमा केन्द्रित छ । उपमहासचिव जर्नादन शर्माले यदि माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकता भयो भने छुट्टै महाधिवेशन हुँदैन ‘एकीकृत महाधिवेशन’ हुन्छ नभए नियमित महाधिवेशन मंसिरमै गर्छौं भन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी प्रकरणमा जेलमा रहेकाले पार्टी नेतृत्व कार्यवाहकमा अल्झेको छ । पार्टीले पहिले नै फागुन ७–९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, आमनिर्वाचन फागुन २१ मा तोकिएपछि अब मिति पुनः निर्धारण गर्न कात्तिक २१–२२ मा विस्तारित बैठक बोलाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर अन्त्यअघि जिल्ला अधिवेशन सक्ने र त्यसपछि महाधिवेशनको मिति घोषणा गर्ने तयारी गर्नुभएको छ । राप्रका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिबाट मिति टुंग्याउने निर्णय गरिसकेको छ । देशले खोजेको राष्ट्रवादी शक्तिका रूपमा राप्रपालाई लिङ्देनले पुनःस्थापना गरेका छन् ।

तर, पार्टीभित्र डा. धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र असन्तुष्ट छन् । उनीहरू महाधिवेशनमा विकल्पका रूपमा भिड्ने तयारीमा छन् । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालमाथि गम्भीर दबाब छ । महासचिव घनश्याम भुसाल र रामकुमारी झाँक्रीले ‘अब नेतृत्व दोस्रो पुस्तालाई देऊ’ भन्दै बैठकमै राजीनामा मागेका छन् । माओवादीसँग एकता गर्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुनुहुन्छ । पार्टीभित्र पुनर्गठन गरेर चुनावमा जाने धार बलियो बनेको छ ।
डा. सीके राउतको जनमत पार्टी टुक्रिएको छ । उपाध्यक्ष दीपक साह र अब्दुल खानलगायत शीर्ष नेताहरूले राजीनामा दिएर नयाँ पार्टी गठन गरिसकेका छन् ।

जनता समाजवादी पार्टी नेपालले कात्तिक १९–२० मा केन्द्रीय समिति बैठक बोलाएको छ । उपेन्द्र यादव नेतृत्व कायम छ । लोकतान्त्रिक समाजवादी पार्टीमा महन्थ ठाकुर नै अध्यक्ष छन् । यी दुवै दलमा पनि पुस्तान्तरणको आवाज सुनिन थालेको छ ।