“मोन्था” चक्रवातको प्रभाव : देशभर बदली, कोशी–बागमतीमा भारी वर्षा र हिमपातको सम्भावना


काठमाडौं ।

बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” भारतको मध्य प्रदेश नजिक न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले यसको असर नेपालमा आज साँझसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मौसम क्रमशः सुधार हुने देखिए पनि अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

मौसमको यस प्रभावले दैनिक जनजीवन, कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।