हमास आक्रमणमा मारिएकाहरूको सम्झनामा काठमाडौंमा स्मृतिसभा

940
Shares

काठमाडौं
काठमाडौंस्थित इजरायली दूताबासले इजरायलमा अक्टोबर ७, २०२३ मा हमासले गरेको आतंककारी आक्रमणमा मारिएकाहरूको सम्झनामा बिहीबार स्मृतिसभाको आयोजना गरेको छ ।


आधुनिक इतिहासको सबैभन्दा कालो दिनको रुपमा रहेको उक्त घटनामा १२ सय निर्दोष इजरायली तथा विदेशी नागरिकको निर्मम हत्या गरिएको थियो । त्यो दिन नेपालले पनि आफ्ना ११ जना युवालाई गुमाएको थियो । उक्त आक्रमणमा इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका नेपाली विद्यार्थीहरूमध्ये १० जना सोही दिन मारिएको थियो भने एक जना विपिन जोशीलाई अपहरण गरेर लगिएको थियो । हमासले दुई वर्षसम्म विपिनको अवस्थाबारे कुनै जानकारी दिएन । यसबीच नेपाल सरकारका साथै विपिनको परिवार र इजरायली दूताबासले पनि विपिनको सकुशल रिहाइका लागि अनेक प्रयत्न गरे । तर हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको इजरायल–हमास युद्धविरामका क्रममा उनको अपहरणको केही समयपछि नै हत्या भएको पुष्टि भयो । तिहारको समयमा उनको पार्थिव शरीरलाई नेपाल फकाईएको थियो ।


सरकारी अधिकारी, कूटनीतिक समुदायका सदस्य, विभिन्न क्षेत्रका गणमान्य व्यक्तिहरुका साथै संचारकर्मीहरूको समेत सहभागिता रहेको उक्त स्मृतिसभामा दीप प्रज्वलन गरी मौन धारण गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रमको सुरुमा अक्टोबर ७ मा हमासले मच्चाएको आतंक देखाउने विभत्स एवं क्रुर हत्या, अपहरणलगायतका वास्तविक दृश्यसहितको भिडियो प्रस्तुत गरिएको थियो । ती भिडियोहरू इजरायली सेनाले बरामद गरेको हमासका लडाकुहरूले नै खिचेको भिडियो, सीसीटिभि फुटेज, पीडितहरूको मोबाइलमा कैद भएको दृश्यहरू समेटिएको थियो ।


कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यो क्रुर आक्रमणले इजरायल र नेपाल दुई देशका जनताका भाग्य सधैंका लागि जोडिदिएको धारणा राख्नुभयो । उहाँले इजरायल सरकार सधैं पीडित इजरायली नागरिकका साथै नेपाली पीडित परिवारको साथमा रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा न्यायाधीश सुनिल कुमार पोखरेलले शान्तिको विकल्प नभएको उल्लेख गर्दै हालसालैको शान्ति सम्झौताले दीर्घकालीन स्थायित्व ल्याओस् र पीडितहरूका लागि न्याय स्थापित होस् भन्ने कामना गर्नुभयो ।
दूताबासका उपप्रमुख जनान बेबारले अक्टोबर ७ मा भएको आतंककारी आक्रमण आधुनिक मानव इतिहासकै कालो धब्बा भएको जिकिर गर्दै उक्त आक्रमणबाट बँचेका परिवारहररूमा परेको मानसिक आघातबारे चर्चा गर्नुभयो ।


कार्यक्रममा पीडित परिवारको प्रतिनिधित्व गर्दै उक्त आक्रमणमा ज्यान गुमाएका दिपेशराज बिष्टका भाई बसन्तराज बिष्ट, उक्त आक्रमणका घाइते हिमाञ्चल कट्टेलले आफ्नो पीडा र भोगाई साझा गर्नुभएको थियो ।
कार्यक्रममा इजरायली फोटोग्राफर जिभी कोहेनलगायतका कलाकारका तस्विरहररू प्रर्दशन गरिएको थियो । ती तस्विरहरूमा अक्टोबर ७ को नरसंहारको मानवीय पीडालाई उजागर गरिएको थियो ।