लन्डन।
नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतस्थित नेपाली डायसपोरा अत्यन्त सक्रिय र नेपाललाई अत्यन्तै माया गर्ने समुदायका रुपमा पाएको बताउनुभयो । उहाँले नेपालमा हालै भएका घटनापछि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न बेलायतस्थित नेपाली समुदाय तथा संघसंस्थालाई आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेको छैटौं अधिवेशन घोषणा सभा तथा दशैंतिहार सांस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले यसबारे थप जानकारी नेपाली दूतावासको वेबसाइटमा रहेको जानकारी दिनु भयो । उहाँले प्रवासमा नेपाली कला संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्न इनास युकेले गरिरहेको प्रयासको पनि प्रशंसा गर्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेले आफ्नो छैटौं अधिवेशन घोषणा सभा तथा दशैंतिहार सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाएको छ । उलिचस्थित ट्रामसेड थियटरमा आयोजित समारोहको सुरुमा नेपाली जनताको स्वतन्त्रता, समानता, राष्ट्रियता र लोकतन्त्रका लागि प्राण अर्पण गर्ने सहिदहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु गाइएका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, इनास युकेका संस्थापक मनीष श्रेष्ठ तथा इनास युकेका अध्यक्ष सञ्जयभक्त कँडेलले सामूहिक रुपमा दीप बालेर गर्नुभएको थियो ।
आफ्नो शुभकामना मन्तव्यमा एनआरएनए आइसीसीका पूर्वअध्यक्ष कुल आचार्यले इनास युकेले कला, संस्कृतिमार्फत नेपाली समुदायलाई एउटै मालामा गाँस्ने काम गरेको बताउनुभयो । उहाँले आफूले एनआरएन नागरिकता लिएको २ वर्ष ९ दिन भएको र अहिलेसम्म ७ हजार गैरआवासीय नेपालीहरुले एनआरएन नागरिकता लिइसकेको बताउनुभयो । उहाँले एनआरएन नागरिकताको छिटो कार्यान्वयन गर्न आग्रह पनि गर्नुभयो । उहाँले नेपालको माटो बेचेर विदेशी माटोमा न मिसाउन पनि आह्वान गर्नु भयो ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अहिले देशमा पीडा महसुस भइरहेको भन्दै हाम्रो समाजलाई कता लैजाने सोच्ने बेला आएको बताउनुभयो । उहाँले विस्तारित राष्ट्रियताको अवधारणाअनुरुप संसारभरि रहेका नेपालीहरुलाई एउटै सूत्रमा जोड्नुपर्ने बताउनुभयो । निर्वाचन समितिका संयोजक हेमन्त सेढार्इंले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनुभयो । इनास युकेका संस्थापक तथा इनास ग्लोबलका पूर्वउपाध्यक्ष मनीष श्रेष्ठले सबैलाई स्वागत गर्नुभयो भने उपाध्यक्ष दीप गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी तथा निर्वाचन समितिका सदस्य राजु न्यौपानेले २०२५–२७ कार्यकालका लागि निर्वाचित इनास युकेका साथै इंगल्यान्ड, स्कटल्यान्ड तथा वेल्स कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार सनम बैराग, समाजसेवी हरि कार्की, साहित्यकार तथा समाजसेवी डा. बच्चुकैलाश कैनी, भिडियोग्राफर सुमन श्रेष्ठ, चितवन समाज युकेका अध्यक्ष राजु आचार्य, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, नेवा संस्कृति अभियन्ता विनोद चिपालु, इनास युकेकी पूर्व अध्यक्ष रजनी सुनुवार, पत्रकार भगीरथ योगी, लेखक श्रीभक्त खनाल, व्यवसायी विकाश नेपाल, प्रतिभा नक्षत्रका अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच गुथी युकेका अध्यक्ष सुशील प्रजापतीलाई सम्मान गरिएको थियो । यसै गरी चलचित्र निर्देशक प्रदीप शाही, क्रिकेट अभियन्ता भुवन गिरी, वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक राजेश बर्देवा, चलचित्र निर्देशक संयुक्त श्रेष्ठ, खेलकुद क्षेत्रमा पुराएको योगदानका लागि सिद्धार्थ विक्रम क्षेत्री तथा सुरज कार्की, संस्थाकी उपाध्यक्ष सविना श्रेष्ठ, इनास वेल्सका अध्यक्ष रामदत्त मिश्रलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चर्चित गायिका शर्मिला बर्देवाले आगो लाग्यो दिलैमा दमकल बोलाइ देऊ लगायतका लोकप्रिय गीतहरु सुनाउनुभयो । त्यस्तै युवा गायक निशान बरालले गीत सुनाउनुभयो भने अभिषेक गौतमले विभिन्न तालमा मादल बजाउनुभयो । साँस्कृतिक संयोजक उपाध्यक्ष सविना श्रेष्ठले कार्यक्रममा कल्चरल ¥याम्प वाक तथा विभिन्न राष्ट्रिय र लोकगीतलाई प्रस्तुत गर्न संयोजनकारी भूमिका खेल्नुभएको थियो ।











प्रतिक्रिया