काठमाडौं ।
देशका विभिन्न स्थानमा मंगलबार भएका तीन सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकमा बा.२ ख १९८३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भई अस्पतालमा उपचाररत छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी रूपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी दुर्घटनामा परेर सैनामैना नगरपालिका–८ का ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर बिकको मृत्यु भएको हो। गम्भीर घाइते चार जनाको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रूपन्देहीकै तिलोत्तमा नगरपालिका–४ डिंगानगरमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ का ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मृत्यु भएको छ। मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया