नेपालमा चक्रवात ‘मोन्था’को प्रभावले पार्न सक्छ असर

सबै तहका निकायलाई सतर्क रहन अनुरोध

3.2k
Shares

–कहिले खुल्छ मौसम
–हिमपात, वर्षा र चिसोले जनजीवन प्रभावित

काठमाडौं ।

बंगालको खाडीबाट विकसित चक्रवात ‘मोन्था’ को असर नेपालका पूर्वी र मध्य भागमा देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवात मोन्था उत्तर–पश्चिम दिशातर्फ सर्दै जाँदा यसको प्रभाव क्रमशः कोशी, मधेस र वागमती प्रदेशमा गहिरिँदै गएको छ ।

अहिले देशका अधिकांश भागमा आकाश बदलिँदो अवस्थामा पुगेको छ भने तापक्रम घट्दो र वर्षा सुरु हुन थालेको छ । काठमाडौं उपत्यकासहितका सहरमा हावा चल्ने र चिसो बढ्ने क्रमले जनजीवनमा प्रभाव पार्न थालेको छ ।
चक्रवातको प्रत्यक्ष प्रभाव पूर्वी नेपालको कोशी प्रदेशमा बढी देखिने अनुमान गरिएको छ । संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा मंगलवार रातिदेखि लगातार वर्षा र हिमपात हुन थालेको छ ।

मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लाका उच्च भू–भागमा हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा हिमपात सुरु भएको भएको विभागको पूर्वानुमान गरेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा विशेष गरी कोशी र वागमती प्रदेशका क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको चेतावनी दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेस र वागमती प्रदेशका जिल्लामा भोलि बिहीबारदेखि शनिवारसम्म तीव्र वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।

प्रवक्ता महतका अनुसार सम्भावित जोखिमका कारण आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायात अवरुद्ध हुने, कृषि र पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना देखिएकाले सबै तहका निकायलाई सतर्क रहन अनुरोध गरिएको छ ।
बंगालको खाडीमा विकसित प्रणालीले नेपालको मौसममा प्रत्यक्ष असर पार्ने सम्भावना देखिँदै छ । त्यसैले सम्बन्धित सबै निकाय तयारी अवस्थामा रहन आग्रह गरिएको प्रवक्ता महतले बताउनुभयो ।

त्यसै गरी तराई क्षेत्रमा चिसो ह्वात्तै बढेपछि जनजीवनमा असर पर्न थालेको छ । वृद्धवृद्धा र बालबालिकामा ज्वरो र खोकीका समस्या देखिन थालेका स्वास्थ्यकर्मी बताउँछन् । मौसमविद् मदनलाल श्रेष्ठका अनुसार, यदि चक्रवात मोन्था उत्तर–पूर्व दिशातर्फ तीव्र गतिमा बढ्दै नेपालको भू–भागमा प्रवेश ग¥यो भने वर्षा र हिमपात थप तीव्र हुन सक्छ । उहाँले आवश्यक पूर्वतयारी नगरे ठूला सहरदेखि हिमाली भू–भागसम्म असर पुग्ने चेतावनी दिनुभएको छ ।

विभागका अर्का वरिष्ठ मौसमविद् सरोज पाण्डेले भन्नुभयो– ‘हाल देखिएको प्रणाली शुक्रवार बिहानसम्म बलियो रहन सक्छ । त्यसपछि शनिवारतिर कमजोर हुँदै मौसम क्रमशः स्थिर हुँदै जाने संकेत छ ।’ विभागका अनुसार कार्तिक १३ देखि १५ गतेसम्म देशका पूर्वी र मध्य भू–भागमा निरन्तर वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिवारदेखि मात्र मौसम सामान्यतिर फर्किने अनुमान गरिएको छ । तर, विशेषज्ञहरूका अनुसार ती दिनमा नदी–नाला र पहाडी सडकमा सावधानी अपनाउन आवश्यक छ । विशेष गरी वागमती, कमला, कोशी र कन्काई नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ ।

तिलिचो बेस क्याम्पमा फसेका ७५० को उद्धार

हिउँका कारण मनाङ, मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा पर्यटक तथा स्थानीयवासी फस्ने क्रम बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य थालेका छन् ।

मनाङको तिलिचो बेस क्याम्पमा फसेका ७ सय ५० जनालाई सुरक्षित स्थान खाङसारसम्म ल्याइएको छ भने ५० जना पर्यटकलाई अस्थायी आश्रयमा राखिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।