सर्वोच्चको मूल भवनमा मात्रै ५० करोडको क्षति

1.22k
Shares

काठमाडौं ।

सर्वोच्च अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा आज बुधबार जाहेरी दिइने भएको छ । यसैगरी देशभरका अन्य अदालत जलाउनेविरुद्ध पनि जाहेरी दिइने भएको छ । मंगलबार बसेको न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) ले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कसैको नाम किटानी नगरी जाहेरी दिइने छ । आइतबारको फुलकोर्टको बैठकले सर्वोच्चसहित देशभरका अदालतमा आगजनी र क्षति गर्नेलाई कारबाहीको मागसहित कानुनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । जेन–जी आन्दोलनमा भएको दमनको भोलिपल्ट देशव्यापी रूपमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च अदालत आगजनीले ध्वस्त भएको थियो ।

सर्वोच्चका अनुसार मूल भवनमा मात्रै ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । ४० करोड १९ लाख ५ हजार ७ सय ८ रुपियाँ बराबरको सवारीसाधन (पूर्ण क्षति), २८ करोड ७३ लाख १५ हजार ९ सय ३० रुपियाँको जिन्सी (खर्च भएर जाने), २४ लाख १९ हजार ४ सय १३ रुपियाँ बराबरको जिन्सी (खर्च भएर नजाने) र २ करोड ५ लाख ५० हजार रुपियाँ बराबरको सवारीसाधन (आंशिक) गरी कुल १ अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपियाँ बराबरको सम्पत्ति नष्ट भएका छन् । नष्ट भएका सम्पूर्ण सम्पत्तिको विवरणसहित प्रहरीमा जाहेरी लिएर जान लागिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताउनुभयो ।

तथ्यांकअनुसार सर्वोच्चको मात्रै ४३ थान चारपांग्रे, ७१ वटा मोटरसाइकल, ३८ स्कुटर गरी १ सय ५२ सवारी जलेर नष्ट भएका छन् । जसमध्ये १६ चारपांग्रे सवारीसाधन भने मर्मतपछि प्रयोग गर्न मिल्ने अवस्थामा छन् । त्यस्तै, डेस्कटप कम्प्युटर ७ सय ९, ल्यापटप ५ सय ७७, प्रिन्टर ३ सय ८५, अभिलेख स्क्यानर २, सानो स्क्यानर ३ सय ४६, सीसीक्यामेरा १ सय ८४, भिडियो कन्फ्रेन्स सेट ६१, डिस्प्ले टिभी ९०, यूपीएस ९ सय १५, फोटोकपी ५, जेनेरेटर १, एसी १ सय १२ र ई–हाजिरी ४२ वटा जलेर नष्ट भएका छन् ।

त्यसबाहेक मुद्दाका मिसिल, अभिलेख पनि जलेर नष्ट भएका छन् । सर्वोच्चका अनुसार चालू अवस्थाका २० हजार ३४ मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्चमा चालू अवस्थाका मात्रै सबै गरी २४ हजार २ सय ३४ मिसिल थिए । त्यस्तै, अभिलेखमा राखिएका १ लाख ९७ हजार मिसिल जलेर नष्ट भएका छन् । सर्वोच्च संकलित सोही विवरण लिएर जिल्ला प्रहरीपरिसर काठमाडौंमा जाने तयारीमा रहेको सर्वोच्चका प्रवक्ता कोइरालाले बताउनुभयो ।
‘मातहतका अन्य अदालतमा पनि आगजनी, तोडफोड भएका छन् । उनीहरू पनि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमै जाहेरी लिएर जानेछन् । सर्वोच्चको जाहेरी दर्तालगत्तै उनीहरू पनि जाहेरी लिएर सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जान्छन्’ –उहाँले भन्नुभयो ।

सर्वोच्चका अनुसार उच्च अदालतका न्यायाधीश चढ्ने दुईवटा सवारीसाधनमा आगजनी भएका छन् । जिल्ला अदालतका न्यायाधीश चढ्ने २५ सवारीसाधन जलाइएका छन् । उच्च र जिल्ला अदालतका अन्य सवारीसाधनमा ३८ चारपांग्रे, १५२ मोटरसाइकल र ३२ स्कुटरमा आगजनी भएका छन् ।

उच्च अदालतका ७ सय ८३ डेस्कटप, ५८ ल्यापटप, ४ सय ६९ प्रिन्टर, २१ अभिलेख स्क्यानर, १ सय ६३ सानो स्क्यानर, २ सय ६१ सीसीटिभी, २५ भिडियो कन्फ्रेन्स सेट, १ सय ५ डिस्प्ले टिभी, १ सय ९६ यूपीएस, ३३ फोटोकपी मेसिन, ५ जेनेरेटर, २ सय २७ एसपी र ३९ ई–हाजिरी जलेर नष्ट भएका छन् ।

सर्वोच्चका अनुसार चालू अवस्थाका ६ हजार ५ सय ३३ मिसिल जलेर नष्ट भएका छन् । अभिलेखमा राखिएका सात लाख ६ हजार ७१ मिसिलमा आगो लगाइएको छ । त्यसबाहेक तहसिल मिसिलतर्फका ४ हजार १ सय ८५ मिसिल जलेर नष्ट गरिएका छन् । सूचना अधिकारी पाण्डेले उच्च र जिल्ला अदालतमा भएका क्षतिको एकमुष्ट क्षतिको विवरण भने तयार भइनसकेको बताउनुभयो ।