प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका-४ घर भई हाल काठमाडौँको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका छन्।

पक्राउ परेकाले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुङ्गामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो ।