काठमाडौं ।
जेन–जी विद्रोहपछि युवा वर्गको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा ओइरो लागेकोे छ । नयाँ दल दर्ताको लागि जुनसुकै समयमा निवेदन दिन सक्ने कानुनी प्रावधान भए पनि जेज–नी विद्रोहपछिको अवस्थामा युवा वर्गको समेत सहभागितामा दलहरू दर्ता हुने क्रम चलेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलले यही कार्तिक ३० गते भित्रमा दल दर्ता गराई दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने सूचना प्रकाशित गरेको थियो । आयोगमा दर्ता कायम रहेको राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरिने अवधिमा दर्ता गराउने पाउने छन् ।
नयाँ राजनीतिक दल दर्ताका लागि निवदेन आएकामध्ये ६ वटा दलको निवेदन यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि परेको थियो । त्यसमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि रहेको छ । सो पार्टीले गत असोज ७ गते दल दर्ताको लागि निवेदन दिएको थियो । त्यस्तै गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिह्नसहित यही कात्तिक २ गते दर्ताको निवेदन दिएको थियो । अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा दर्ताका लागि निवेदन दिएको थियो ।
गत असोज ३० गते दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले ‘ज्योति’ चुनाव चिह्नको मागसहित दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । दल दर्ताका लागि हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेन–जी पार्टी नेपालले यही कात्तिक २ गते आयोगमा निवेदन दिएको थियो । सो दलले ‘क्रस खुकरी’ निर्वाचन चिह्न मागेको छ । सो दिन राष्ट्रिय परिर्वतन पार्टीले पनि आवदेन दिएको थियो ।
आयोगका प्रवक्ता भट्टराईले उमेर समूह खुल्ने प्रकृतिको दलको नाम र ‘क्रस खुकरी’ निर्वाचन चिह्न हालसम्म कसैले नपाएको अवस्थामा त्यसबारे आयोगले प्रचलित व्यवस्था र अभ्यास हेरेर निर्णय गर्ने बताउनुभयो ।
आयोगका अनुसार आवेदन परेका दलहरूको कागजात हेरेर आयोगले प्रक्रिया पुग्नेहरूको मात्र आवेदन स्वीकृत गर्ने छ । हाल आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन परेका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको छ । आयोगमा निर्वाचन घोषणापूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको प्रवक्ता भट्टराईको भनाइ छ । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १ सय २२ दल दर्ता भएकोमा यस बीचमा दुई दल विभाजन भई दलको संख्या १ सय २४ पुगेको छ ।
आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालका अनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय तोकिएको छ । यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन् ।
राजनीतिक दल दर्ताको निवेदनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलको विधान, नियमावली र घोषणापत्र २÷२ प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आयस्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्ने प्रावधान रहेको छ ।











प्रतिक्रिया