काठमाडौँ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट उनी सोमबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा कात्तिक १० देखि १३ गतेसम्म हुँदैछ।
आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाएर सम्बोधन गर्ने कार्यक्रम छ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ।
सन् २०१५को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसए सम्बन्धी पेरिस घोषणा जारी भएको थियो।
सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविष्यमा प्रयोग हुने प्रविधि अनुकूल मार्ग निर्देश गर्नेलगायतका काम गर्न आइएसए स्थापना भएको थियो।
आइएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो। महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।











प्रतिक्रिया