थपिए दुई मन्त्री, मन्त्रिपरिषद् अझै अपूर्ण


काठमाडौं।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गर्नुभएको छ । जसअनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लू गुप्ता गरी दुईजना मन्त्री थप भएका हुन् । तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को संख्या आइतबारको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएलगत्तै उहाँहरूले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।

आइतबार चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको थियो । श्रम मन्त्रीको सिफारिसमा परेका खगेन्द्र सुनार विभिन्न काण्डमा मुछिएको पुष्टि भएपछि अन्तिम समयमा आएर उहाँको शपथ रोकिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुनुभए लगतै डा. सुधा शर्माले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहणपछि उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो । गत भदौ २३ र २४ गते भएका जेन–जी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर खण्डहर बनेका कारण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा सारिएको हो । आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवनसँगै अभिलेखसहित थुप्रै सामग्री नष्ट भएको थियो ।

पदभार ग्रहण समारोहमा मन्त्री शर्माले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मनोपरामर्शसहितको तीन बुँदे निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले मन्त्रीका रूपमा आफ्नो पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा तत्काल प्रभाव पार्ने कार्यहरूलाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘कुनै तहमा पनि भ्रष्टाचार भएको सुनिनु नपरोस् । म तीन वर्ष सचिव भएर काम गरेकी थिएँ, त्यसपछि राजीनामा दिएँ । अहिले फरक जिम्मेवारीमा छु । अब परिणाममुखी कार्य देखिनुपर्छ ।’

उहाँले प्राथमिकताका रूपमा मानसिक स्वास्थ्य सुधार, सहिदका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको पहल र आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न आवश्यक वर्गीकरणको आधारमा पहल गर्ने बताउनुभयो । साथै उहाँले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका तीनै तहका सरकारसँग सहकार्य गरी उपचार र सेवा विस्तारमा जोड दिने प्रतिबद्धता पनि जनाउनुभयो । नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले मन्त्रालयका सचिवहरूलाई एक साताभित्र स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिँदै भन्नुभयो– ‘हामी अल्पकालीन तर प्रभावकारी काम गर्छौं । छोटो अवधिमा जनताले सेवा अनुभूत गर्न सक्ने सुधार ल्याउनुपर्छ ।’

उहाँले मन्त्रालयका कर्मचारी र नीति निर्माताहरूलाई सेवा प्रवाहमा पारदर्शिता र दक्षता ल्याउन आग्रह गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर योग्य व्यक्तिहरूलाई स्वास्थ्य शिक्षामा समावेश गर्ने उपायबारे पनि छलफल गर्ने बताउनुभयो । साथै उहाँले वैदेशिक रोजगारमा जाने नेपाली कामदारका लागि स्वास्थ्यसम्बन्धी सूचना, परामर्श र अनलाइनमार्फत समस्या समाधानका पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

डा. शर्माले हालको जेन–जी आन्दोलनको मूल कारण ‘भनसुन र नातावादले उत्पन्न असमानता र असन्तोष’ भएको बताउँदै प्रणालीगत सुधारको आवश्यकता औंल्याउँदै भन्नुभयो– ‘युवाहरूले परिवर्तनको माग गरेका हुन् । त्यसलाई सुन्न र कार्यान्वयन गर्न सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्छ ।’ डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सन् २०६५ असोजदेखि २०६८ पुषसम्म सचिवको रूपमा कार्यरत रहनुभएको थियो । उहाँले त्यति बेला मातृ स्वास्थ्य सुधार, सुरक्षित प्रसूति र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका कार्यक्रमहरू अघि बढाउन भूमिका खेल्नुभएको थियो ।