चालु शैक्षिक सत्रको क्यालेन्डर तयार: त्रिविको परीक्षाफल तीन महिनामै

1.6k
Shares

–नयाँ क्यालेन्डर तयार, छठलगत्तै कार्यान्वयन

–क्यालेन्डर लागू गर्ने उपकुलपतिको प्रतिबद्धता

–पुसको पहिलो साता खेलकुद प्रतियोगिता

–सबै क्याम्पसले पालना गर्नुपर्ने

–०८३ मा हुने स्ववियु चुनाव अटेन

–स्नातक र स्नातकोत्तर तहमा लागू हुने

काठमाडौं।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहअन्तर्गत ८ संकायको भर्ना र परीक्षातालिका तयार गरेको छ । तालिकाअनुसार सेमेस्टरअन्तर्गत र वार्षिक प्रणाली अन्तर्गत 3/3 महिनामा परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ । त्रिवि कार्यकारी परिषद्ले तिहारअघि क्यालेन्डर तयार गरेको हो । त्रिविले चिकित्सा शिक्षाशास्त्र संकायबाहेक सबै संकायको कक्षा सञ्चालन र भर्ना तालिका तयार गरेको हो ।

त्रिविले कृषि तथा पशुविज्ञान, इन्जिनियरिङ, वन, विज्ञान तथा प्रविधि, कानुन, मानविकी तथा सामाजिक, शिक्षा र व्यवस्थापन संकाय गरी ८ वटाको तालिका तयार गरेको हो । ‘हुन त भदौमा तयार भएको थियो, मुलुकमा जेन–जी आन्दोलनका कारण कात्तिकमा निर्णय भएको हो’ –स्रोतले भन्यो । त्रिवि कार्यकारी परिषद्ले क्यालेन्डर तयार गरे पनि सार्वजनिक गरेको छैन । छठपछि क्याम्पस खुलेलगत्तै क्यालेन्डरअनुसार कार्यक्रम अघि बढ्ने बताइएको छ ।

तालिकाअनुसार स्नातक तहको सेमेस्टर प्रणालीअन्तर्गत पहिलो सेमेस्टरका ०८२ मंसिरमा कक्षा सुरु भएर ०८३ वैशाखमा दोस्रो, असोजमा तेस्रो, फागुनमा चौथो सेमेस्टर सुरु हुनेछ । त्यस्तै ०८४ साउनमा पाँचौं र पुसमा छैटौं सेमेस्टर सुरु हुनेछ । ०८५ जेठमा सातौं, कात्तिकमा आठौं र चैतमा नवौं सेमेस्टर सुरु हुनेछ ।
दशौं ०८६ भदौ र ०८६ माघमा एघारौं सेमेस्टरको पढाइ सुरु हुनेछ । कार्यतालिकाअनुसार पहिलो सेमेस्टरको परीक्षा चैतमा हुनेछ भने त्यसको तीन महिनापछि असारमा परीक्षाफल प्रकाशित हुनेछ । दोस्रोको ०८३ भदौमा परीक्षा सकेर मंसिरमा, तेस्रोको ०८३ माघमा परीक्षा सकेर ०८४ वैशाखमा, चौथोको असारमा परीक्षा सकेर असोजमा, पाँचौंको मंसिरमा परीक्षा सकेर फागुनमा, छैटौंको ०८५ वैशाखमा परीक्षा सकेर साउनमा, सातौंको असोजमा परीक्षा सकेर पुसमा परीक्षाफल प्रकाशित हुनेछ ।

आठौंको ०८५ फागुनमा परीक्षा सकेर ०८६ जेठमा, नवौंको साउनमा परीक्षा सकेर कात्तिक, दशौंको पुसमा परीक्षा सकेर चैतमा र एघारौंको ०८७ जेठमा परीक्षा सकेर भदौमा परीक्षाफल प्रकाशित हुनेछ । त्यसै गरी वार्षिक प्रणालीअन्तर्गत पहिलो वर्षअन्तर्गत यो वर्षको मंसिरसम्म भर्ना र कक्षा सञ्चालन, वैशाखमा परीक्षा फारम भर्ने, असारमा कक्षा सकेर साउनको अन्तिममा परीक्षा लिने तालिका छ । कात्तिकमा परीक्षाफल प्रकाशित गर्ने तालिका छ ।

त्यस्तै, दोस्रो वर्षको भदौ अन्तिम कक्षा सुरु भई ०८३ चैत अन्तिममा कोर्स पूरा गर्नुपर्नेछ । दोस्रो वर्षको परीक्षा ०८४ वैशाख अन्तिममा सुरु भएर साउन अन्त्यमा परीक्षाफल प्रकाशित गर्ने तालिका छ । तेस्रो वर्षको कक्षा सञ्चालन ०८४ जेठ अन्तिममा हुनेछ भने माघमा कोर्स पूरा गरी फागुन अन्तिममा परीक्षा लिएर ०८५ जेठ अन्तिममा परीक्षाफल प्रकाशित गर्ने तालिका छ । चौथो वर्षको चैतमा कक्षा सञ्चालन हुनेछ । मंसिर अन्तिममा कोर्स पूरा गरी पुसमा परीक्षा र चैतको अन्तिममा परीक्षाफल प्रकाशित गर्ने तालिका छ ।

उपकुलपति प्राडा दीपक अर्यालले अब क्यालेन्डरअनुसार पठनपाठनदेखि परीक्षाफल प्रकाशित हुने बताउनुभयो । स्नातकोत्तर तहको मंसिरमा आवेदन खुला हुनेछ । पुसमा प्रवेश परीक्षा सकेर माघमा भर्ना हुने तालिका छ । पहिलो सेमेस्टरको परीक्षा ०८३ जेठमा भएर भदौमा परीक्षाफल प्रकाशित हुनेछ ।

दोस्रो सेमेस्टरको असारमा कक्षा सञ्चालन भएर कात्तिकमा परीक्षा हुनेछ भने माघमा परीक्षाफल प्रकाशित हुनेछ । तेस्रो सेमेस्टरको ०८३ चैतमा कक्षा सञ्चालन भएर ०८४ असारमा परीक्षाफल प्रकाशित गरिनेछ भने चौथो सेमेस्टरमा भदौमा कक्षा सञ्चालन भएर मंसिरमा परीक्षाफल प्रकाशित हुने गरी तालिका तयार भएको छ । क्यालेन्डरमा अन्तिम परीक्षा सकेको दुई साताभित्र प्रयोगात्मक परीक्षा लिइसक्नुपर्नेछ ।

क्यालेन्डरमा जाडो र गर्मी बिदा कटौती गर्ने, सेमेस्टरको परीक्षा सकेपछि केही दिन बिदा दिने, साउनदेखि कात्तिकसम्म पठनपाठन सक्नुपर्ने, पुसमा साताव्यापी खेलकुद प्रतियोगिता गर्ने विषय समावेश छ । क्यालेन्डरमा ०८३ चैतमा हुनुपर्ने स्ववियु निर्वाचनको विषय समावेश गरेको छैन ।