छठ मनाउन महानगरले तोक्यो यी आठ स्थान


काठमाडौँ।
आगामी कात्तिक १० गते मनाइने छठ पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आठ स्थानमा छठ मनाउने व्यवस्था मिलाएको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलनमार्फत छठका लागि तोकिएका स्थानहरूको जानकारी दिए। उनका अनुसार छठ पर्वका लागि कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु (कुमारी क्लब अगाडि), कुलेश्वर भलिबल मैदान र रामघाटलाई औपचारिक स्थलका रूपमा तय गरिएको हो।

उनले ती स्थानहरूमा ३ सयभन्दा बढी सरसफाइकर्मी खटाइएको र सरसफाइ तथा तयारीका काम तीव्र गतिमा भइरहेको जानकारी दिए।

महानगरले छठ पर्व व्यवस्थित र सुरक्षापूर्वक मनाउनका लागि आवश्यक सबै तयारी गरेको बताइएको छ।

पाण्डेका अनुसार छठ पर्वको नाममा ताल वा पोखरीमा पैसा उठाउन नपाइने व्यवस्था गरिएको छ। यदि कसैले शुल्क लिन खोजेमा तत्काल महानगरलाई जानकारी दिन आग्रह गरिएको छ।

त्यस्तै, तोकिएका स्थलहरूमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरिएको छ।

यस वर्षको छठ पर्व कात्तिक १० गते मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले छठमा नदी, पोखरी र जलाशयको किनारमा गएर सूर्यदेवको पूजाआराधना गरी आस्था, श्रद्धा र शुद्धताको प्रतीकका रूपमा यो पर्व मनाउने परम्परा रहेको छ।