काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको लाइन शुक्रबार काटेको हो।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार शुक्रबार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।
यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौती गरिएको थियो ।
प्रवक्ता ढकालका अनुसार कूल आठ अर्बभन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहिले किस्तामा तिर्न थालेका छन् भने केही उद्योग अदालतबाट अन्तरिम आदेश लिएका छन्।
सरकारी स्वमित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टको भने लाइन काटिएको छैन।
प्राधिकरणले गत असोज १२ गते उद्योगहरूलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल संकलन नियमावली, २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।











प्रतिक्रिया