भक्तपुर ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।
भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्र अस्वीकार्य हुने बताए ।
मुलुकले भोगेका सबैखाले संकटका बेला लोकतन्त्रवादीहरू एकै ठाउँमा उभिएको भन्दै उनले मुलुकलाई सुशासनको बाटोमा लैजान पनि सबै लोकतान्त्रिक शक्तिहरू एकजुन हुनुपर्ने बताए ।
लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताउँदै उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको संघर्षबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे ।
जेनजी आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधि सुध्रनुपर्ने बताए ।
उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर लुट मच्चाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले जेनजी आन्दोलन अनियमितता विरुद्धको आवाज थियो भन्दै आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई सम्मानका निम्ति पनि अब राजनीतिक नेतृत्व सुध्रनु पर्ने बताए ।
मुख्यमन्त्री बानियाँले पूर्वाग्रह राखेर सबै नेता तथा जनप्रतिनिधिलाई एउटै डालोमा हाल्न नहुने धारणा राखे ।
कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।











प्रतिक्रिया