काठमाडौं।
सामाजिक सञ्जाल टिकटकमार्फत भ्रमपूर्ण र नकरात्मक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
गत असोज ३० गते मोटरसाइकल चालक काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ ट्राफिक प्रहरीले लापरवाही ढंगले सवारी सञ्चालन गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । उनी बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकल चलाइरहेका थिए, जसमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल जडान गरिएको पाइएको थियो ।
ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यकाको परिसरमा मोटरसाइकलको सोधपुछका क्रममा श्रेष्ठले भारतको सितामढी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारीसँग मिलेर सामाजिक सञ्जाल टिकटक आइडी (SS_VLOGS (@ssvlognp10) मार्फत समाजमा नकरात्मक प्रभाव पार्ने गरी श्रव्य–दृश्य सामग्री सार्वजनिक गरेको खुलेको प्रहरीले जनाएको छ ।
सोही आधारमा ट्राफिक प्रहरीले थप अनुसन्धान अघि बढाउँदै असोज ३ गते दिउँसो साढे ३ बजे श्रेष्ठलाई कागेश्वरी मनोहरा–२ तिर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले Samsung Galaxy A14 5G मोबाइल फोन १ थान र GoPro Hero 09 Black क्यामेरा १ थान बरामद गरेको छ । बरामद सामग्रीसहित दुबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक भिडियो प्रसारणका घटनामा वृद्धि भएको र यस प्रकारका गतिविधि समाजमा नकरात्मक प्रभाव पार्ने भएकाले प्रहरी सचेत निगरानीमा रहेको बताइएको छ ।











प्रतिक्रिया