नवलपरासी।
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जिल्ला सदरमुकाम कावासाेतीस्थित प्रहरी कल्याण काेष पेट्रोल पम्पको आइतबार समुद्घाटन गरेका छन् ।
प्रहरीकै १ बिगाहा ३ धुर जमिनमा स्थापना भएको पेट्रोल पम्पको उद्घाटन गर्दै महानिरीक्षक खापुङ्गले पम्प नेपाल प्रहरीको मात्र नभई सबै नागरिकको साझा सम्पत्ति भएको बताए ।
पेट्रोल पम्प उद्घाटन समाराेहमा प्रमुख अतिथि महानिरीक्षक खापुङ्गले यस्काे स्थापना र संचालनमा अपनत्व लिई पम्पको संरक्षणमा समेत सबै सर्वसाधारण नागरिकले उच्च प्राथमिकता दिनु पर्ने धारणा राखेका थिए ।
साेही अवसरमा खापुङ्गले नेपाल प्रहरीले आम प्रहरी परिवार तथा सर्वसाधारणकाे हितका निमित्त सेवा तथा आय मुलक कार्य गर्दै आएकाे र पेट्राेल पम्पको स्थापनाबाट स्थानीय नागरिकलाई गुणस्तरीय ईन्धन उपलव्ध गराउनुका साथै नागरिक र प्रहरी बीचकाे सहकार्य बढाउने उदेश्य राखेकाे बताए ।
साेही अवसरमा महानिरीक्षक खापुङ्गले कार्यक्रममा शान्ति सुरक्षाका विषयमा उठाइएका प्रसङ्गको जवाफमा जेनजी आन्दाेलनका राजनैतिक ईस्यु बाहेक फाैजदारी गतिविधिलाई कानुन बमाेजिम कार्यबाही गर्ने सरकारकाे निर्देशन रहेको र नेपाल प्रहरीको पनि साेही लाइन रहेको बताए ।
पूर्वी नवलपरासी जिल्लाकाे मध्य भाग कावासाेती २ फलफूल चाेक स्थित पूर्व पश्चिम राजमार्ग किनारमा २ पेट्रोल तथा २ डिजल डिस्पेन्सर सहितकाे अत्याधुनिक पेट्रोल पम्पमा ईन्धन लगायत एटीएम सेवा,खाजाघर, शाैचालय, वर्कसप तथा ईभी चार्जिङ्ग सेन्टर रहने बताइएकाे छ ।
गत वर्षकाे भाद्र २ गते निर्माण सम्झौता भई समयमै काम सम्पन्न गरि संचालनमा आएकाे प्रहरी कल्याण काेष पेट्रोल पम्प नवलपरासी बर्दघाट सुस्ता पूर्व १० कराेड ९८ लाख ८ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनेको उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।
प्रहरी कल्याण काेष द्वारा मुलुकका विभिन्न स्थानमा स्थापित पेट्रोल पम्प मध्ये याे नवौँ भएको र पूर्ण सुरक्षा व्यवस्था सहित पम्प चौबिसै घण्टा संचालनमा रहने बताइएको छ ।











प्रतिक्रिया