सचिवालय विस्तारप्रति नेतृ कार्कीकाे असन्तुष्टि


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि प्रकट गरेकी छन् । नेतृत्व पुनर्गठनको बहस चलिरहेको बेला विस्तारित बैठक डाकिसकेको अवस्थामा सचिवालय विस्तार गरिएको भन्दै उनले असहमति प्रकट गरेकी हुन् ।

हिजो बसेको भर्चुअल बैठकले हरि ढकाल, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाललाई सचिवालय सदस्यमा बढुवा गरेको थियो । तर, यो निर्णयले पार्टी ‘रिफर्मेशन’ को माग पूरा गर्न नसकेको जनाउँदै तोसिमाले कार्यकारी नेतृत्व परिवर्तनको माग पनि गरेकी छन् ।

‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो, त्यसकै लागि विस्तारित बैठक तोकिएको थियो’, उनले भनेकी छन्, ‘महाधिवेशन कैले गर्ने, के गर्ने भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठक समेत नकुरी सचिवालय विस्तार गरियो, हामीले खोजेको रिफर्मेसन यो होइन, कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

नेतृत्वको कार्यशैली सच्याउनुपर्नेमा सचिवालय विस्तारले राम्रो सन्देश नगरेको तोसिमाले बताएकी छन्।