कांग्रेसमा पुस्तान्तरण तथा रूपान्तरणकोे प्रस्ताव: जेन–जी विद्रोहलाई शंकाको दृष्टिले नहेरौँ


काठमाडौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रूपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गर्नुभएको छ ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उहाँले देशमा भएको जेन–जी विद्रोहलाई शंकाका रूपमा नहेरी त्यसले उठाएका मूल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताउनुभयो । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरूबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ’ –उहाँले बताउनुभयो । संसारभर सम्पन्न भएका र हँुदै गरेका युवा विद्रोहको प्रस्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उहाँले यो विद्रोहबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताउनुभयो ।

‘तर यसको लागि नेपाली कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्दछ’ उहाँले भन्नुभयोे । आफ्नो प्रस्तावलाई दस्तावेजीकरण गर्दै केन्द्रीय समितिमा दर्ता गरेका पूर्वमन्त्री पौडेलले भन्नुभयो– ‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नुभन्दा त्यसमा उठेका मुख्य विषयलाई जति सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ ।’ विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उहाँले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दासमेत गर्नुभयो ।

स्वास्थ्य बीमाको सुधारमार्फत समाजवाद

पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका पौडेलले आफूले मन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमामा सुविधा वृद्धि र विपन्न वर्गलाई राहतको सीमा बढाएर सुधार थालेको भन्दै यसलाई पार्टीले आधिकारिक नीतिका रूपमा अघि बढाए स्वास्थ्यमा समाजवाद ल्याउन सकिने तर्क गर्नुभयो । ‘हाम्रो पार्टीको नीतिअनुसारको समाजवाद स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरणमार्फत प्राप्त हुन सक्छ’ –पूर्वमन्त्री पौडेलले पेश गरेको प्रस्तावमा छ ।

पौडेलले पार्टीले पुस्तान्तरण र रूपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले युवा सहभागिता वृद्धिका लागि डिजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गर्नुभएको छ । यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्ने उहाँको भनाइ छ । साथै, पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव पनि गर्नुभएको छ ।

यसैबीच पौडेलले अहिलेको संघ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएका कारण धान्नसमेत जटिल र नागरिकमा असन्तुष्टि बढेको भन्दै पुनर्संरचनाको प्रस्ताव गर्नुभएको छ । उहाँले खर्च कटौती तथा छरितो सरकारको अवधारणाा प्रस्तुत गरेर प्रतिनिधि सभा २०१ सांसद तथा मन्त्रिमण्डल बढीमा १५ जना बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । प्रदेश सभाको आकार ४० प्रतिशत कम गर्ने र प्रदेश मन्त्रीमण्डल बढीमा ५ सदस्यीय बनाउने समेत पौडेलको प्रस्ताव छ ।

स्थानीय तह ४०० मा झारेर खर्च कटौती तथा प्रभावकारी सेवा दिन सकिने बताएका उहाँले जिल्ला समन्वय समितिको औचित्य नरहेको भन्दै खारेज गर्नुपर्ने उल्लेख गर्नुभएके छ । नेता पौडेलले स्थानीय तहमा उपाध्यक्ष तथा उप प्रमुखजस्ता पद बोझिलो देखिएको भन्दै त्यसमा समेत कटौतीको प्रस्ताव गर्नुभएको छ । उहाँको प्रस्तावमा आधा उम्मेदवार महिला अनिवार्य गर्दा समावेशिता र महिला सहभागिता पनि बढ्ने उल्लेख छ ।

त्यसैगरी पौडेलले पार्टीको सदस्यता र नेतृत्व चयनमा समेत पुनर्संरचनाको प्रस्ताव गर्नुभएको छ । आगामी चुनावहरूमा पार्टीको उम्मेदवार छनोट पार्टीभित्रै प्राइमरीका आधारमा गर्नुपर्ने प्रस्ताव गरेका केन्द्रीय सदस्य पौडेलले पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तोकेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राख्नुभएको छ ।
नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाहरूको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औं महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले नेतृत्व परिवर्तन मात्र नभै पुस्तान्तरणसहितको नेतृत्व परिवर्तनमा जोड दिनुभएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिइएको पौडेलको प्रस्तावमा भ्रष्टाचार अन्त्यको कार्ययोजना पनि छ । नेता पौडेलले २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न प्रस्ताव गर्दै र स्रोत पुष्टि नभएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।