भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन राष्ट्रपति पौडेलको निर्देशन


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ-निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार-सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा ४ वटै सुरक्षा निकायका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन। उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले गत भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अबिलम्ब फिर्ता गर्न पनि आग्रह गरेका छन्। अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन् । उनले पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताएकी छन्।

सु्रक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए । उनीहरूले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रुपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए ।

साेही छलफलमा प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागीता रहेकाे थियो ।