समाज र राष्ट्रलाई बदनाम गराउने काम गर्दिनँ : मन्त्री खरेल


काठमाडौँ।

सूचना सञ्चार एवं प्रविधिमन्त्री जगदीश खरेलले आफू ६ महिनाका लागि मात्रै मन्त्रीमा नियुक्त भएकाले यो अवधिमा जति सकिन्छ समाज र राष्ट्रलाई राम्रो काम गरेर सरकारबाट बाहिरिने बताएका छन् । जेन–जी आन्दोलनको जगमा मन्त्री बनेका खरेलले आफूले मन्त्री भएपछि जेन–जी सहिदको सपनालाई साकार पार्न, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा काम गरी फागुन २१ भित्र निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेको बताए । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थायी बासिन्दा रहेका मन्त्री खरेलले महालक्ष्मी नगरपालिका २ इमाडोलमा अवस्थित गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको ७३औं वार्षिकउत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताएका हुन् ।

लामो समयसम्म सञ्चारकर्मी भएर काम गरेका मन्त्री खरेलले राजनीतिमा प्रवेश गरेपछि व्यक्तिगत जीवन, परिवार, समाजलाई भनेजति समय दिन नसकिने अनुभव समेत सुनाए । उनले भने, ‘महालक्ष्मी नगरपालिकाले राज्य सञ्चालनका लागि आज मन्त्री पाएको छ यो सबै हामी महालक्ष्मी नगरबासीका लागि खुशीको कुरा हो भने यो खुशी र इज्जतलाई मन्त्रीका हैसियतबाट कदापि कमजोर हुन दिने छैन । भोलिका दिनमा छ महिने मन्त्रीले कुनै विशिष्ट काम ग¥यो भन्ने नदेखिएला तर समाज र राष्ट्रलाई बदनाम हुने काम मबाट हुने छैन ।’ विद्यालय स्थापनाको ७२औं वर्ष पूरा भई ७३ वर्ष पूरा भएको अवसरमा शुभकामना साथै शैक्षिक उन्नयनको कामना समेत मन्त्री खरेलले गरे ।

उक्त कार्यक्रममा विद्यालयमा लामो समयसम्म सेवा पु¥याउने शिक्षाकर्मीहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिरा श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नजिकिँदै गरेको शुभ दिपावली नेपाल संवत् एवं छठ पर्वका अवसरमा अतिथिहरु वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले राष्ट्रियता एवं संस्कृति झल्कने गीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।