जेनजी आन्दोलनबारे सेनाको स्पष्टीकरण : ‘आवश्यकताको सिद्धान्तअनुसार कदम चालियो’


काठमाडौं ।

जेनजी आन्दोलनका घटनापछि नेपाली सेनाले आफूले ‘आवश्यकताको सिद्धान्त’अनुसार आवश्यक कदम चालेको जनाएको छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनको लहर केही समयअघि देखिए पनि त्यसको विकासक्रम अचानक र तीव्र रूपमा प्रकट भएको बताए।

थापाले भने, “हामीले राष्ट्रको रक्षा र जनधनको सुरक्षालाई प्राथमिकता दिँदै अन्य सुरक्षा निकायसँग काँधमा काँध मिलाएर काम गरेका हौं।”

आन्दोलन नियन्त्रणमा सेनाले ढिलाइ गरेको आरोप अस्वीकार गर्दै उनले थपे, “त्यस्तो प्रश्न आफैंमा विरोधाभासी छ, हाम्रो मुख्य उद्देश्य देश र नागरिकको सुरक्षा हो।”

सेनाका अनुसार भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना गरी कुल ७६ जनाको मृत्यु भएको छ।

उक्त आन्दोलन ४८४ स्थानमा फैलिएको थियो। सेनाले दिएको विवरणअनुसार—

६८८ सरकारी कार्यालय,

२५९ निजी घर,

१२८ व्यापारिक प्रतिष्ठान,

१९८ राजनीतिक दलका कार्यालय, र

३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो।

यस्तै, आन्दोलनका क्रममा १५ हजार ५८८ कैदी भाग्दा हालसम्म ८ हजार ७९९ जना पुनः नियन्त्रणमा लिइएको र हराएका ९७८ मध्ये ५८६ हतियार फिर्ता भएको सेनाको रिपोर्टमा उल्लेख छ।