प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध बिहीबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पूर्व राज्यमन्त्री एवं जसपा नेपालका सांसद सिंहले उपभोक्ता समितिको खाताहरूमा जम्मा भएको रकम आफनाे र श्रीमतीको नाममा रहेको संयुक्त खातामा दाखिला गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतमा सो मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपँत, भिखारी राउत कुर्मी, भँपेन्द्रकुमार झा, मञ्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सार्वजनिक खरिद प्रक्रियामा संलग्न विभिन्न उपभोक्ता समितिहरूको खाताबाट झिकिएको रकम सिंहले आफ्नो र पत्नी सरिताकुमारी महतो सिंहको संयुक्त खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

विभिन्न उपभोक्ता समितिहरूको नाममा साबिकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लिमिटेडमा कुल रकम १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपियाँ जम्मा गरिएको थियो । विभिन्न योजनाको नाममा जम्मा भएको सो रकममध्ये कैयौं रकम स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत निजी खातामा सारिएको पाइएको हो । त्यसमध्ये सिंहले ३८ लाख ५० हजार ३ सय १९ रुपियाँ अर्थात औसतमा २८ दशमलव २५ (प्रतिशत) को दरले कमिसन लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (पूर्वको संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८÷७९ मा महोत्तरीको रामगोपालपुर, मनराशिसवा र सम्सी गाउँपालिकाका विभिन्न वडाहरूमा विकास योजना सञ्चालनका लागि गठन भएका उपभोक्ता समितिहरूको खाताबाट रकम निकालिएको थियो ।

यी योजनामा महारानी सौन्दर्यकरण उपभोक्ता समिति, मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकँल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समिति, मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर –५, कञ्चनपुरबाट सिंहले कमिसन लिएको अनुसन्धानमा देखिएको छ ।

अख्तियारको भ्रष्टाचार निवारण ऐनअनुसार कसुरको प्रकृतिअनुसार रकम माग दाबी गरी मुद्दा दायर गरिएको जनाएको छ ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २ सय ६० रुपियाँ, उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसंग ६ लाख ५७ हजार ७ सय सय रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपियाँ, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभादेवी खत्वेसँग १ लाख ५० हजार मागदाबी गरिएको छ ।

रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्रकुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपियाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जुदेवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपियाँ बिगो कायम गरिएको छ ।