निर्धारित समयमा  निर्वाचन गर्न नदिन केही तत्व लागि परेका छन् : गृहमन्त्री अर्याल

658
Shares

भक्तपुर ।

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागि परेको बताएका छन् । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उनले सरकारले फागुन २१ गतेको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्ने बताए ।

निष्पक्ष निर्वाचन गर्नका लागि बातावरण बनाउन सरोकारवालाहरुलाई संवादमा आउन आग्रह गर्दै गृहमन्त्री अर्यालले निर्धारित मितिमै निर्वाचन गर्न दलहरुले  संवाद मार्फत साथ र सहयोग गर्नु आवश्यक रहेको बताए ।

त्यसका लागि सरकारले सहजीकरण गरिरहेको बताउँदै गृहमन्त्री  अर्यालले  सरकारले निर्वाचन  मार्फत जो कोही पनि आउन सक्छ भने । निर्वाचन गर्न नदिने तत्वहरुलाई सम्झाइ बुझाइ गर्नु आवश्यक रहेको बताए । 

उनले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोवल गिराउने काम गरेको भन्दै मनोवल बढाउने काममा सरकारले काम गरिरहेको बताए ।
 
शान्ति, सदभाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्त भएकाहरु लागि परेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले अपदस्त भएकाको गलत कामवाट देशमा विद्रोह भएकाले तिनीहरुलाई देशको राजनीति धमिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौ, भने ।

आन्दोलनका क्रममा सवारी साधन जलेको र हतियार लुटिएकाले प्रहरीलाई सरकारले सवारी साधन, हातहतियार तथा सामाग्री दिन लागिपरेको उनले बताए ।

उनले भक्तपुरका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न  प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । 

भदौं २४ गते आन्दोलनको कारण जिल्ला प्रशासन कार्यालयको नगरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको समेत गृहमन्त्री अर्यालले अवलोकन एव अनुगमन गरे ।
 
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मन्त्री अर्याललाई जिल्लाको समग्र शान्ति सुरक्षाको अबस्थाकाबारेमा जानकारी गराएका थिए ।