रहेनन् महाभारतका कर्ण


लोकप्रिय भारतीय धार्मिक सिरियल महाभारतमा कर्णको भूमिका निर्वाह गरेर लोकप्रियता कमाएका अभिनेता पंकज धीरको निधन भएको छ।
कर्णको भूमिकामार्फत घर–घरमा परिचित बनेका उनको ६८ वर्षको उमेरमा निधन भएको हो। उनको निधनको पुष्टि महाभारतमै अर्जुनको भूमिका निभाएका फिरोज खानले गरेका थिए।

तीन वर्षअघिदेखि बिरामी परेका उनी पुनः काममा फर्किएका थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार पंकज केही समयअघि क्यान्सरमुक्त भए पनि पुनः क्यानसर फर्किएका कारण उनको निधन भएको थियो।

‘हामी सबैलाई एकदिन यो संसारबाट जानु नै पर्छ, तर त्यसभन्दा महत्वपूर्ण कुरा हो कि हामी कस्तो जीवन बाँच्छौं। महाभारत टोलीले आज फेरि एउटा अनमोल रत्न गुमायो’ महाभारतमा कृष्ण बनेका नितिश भारद्वाजले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्।

सन् १९५६ मा भारतको पन्जाबमा जन्मिएका पंकजको फिल्म यात्रा सजिलो थिएन। उनले नरेन्द्र बेदीको पहिलो फिल्ममा असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरेका थिए। त्यतिबेला उनलाई मासिक ३ सय रुपैयाँमात्र तलब मिल्थ्यो। उनका पिता पनि फिल्म उद्योगस“ग सम्बन्धित थिए,। तर पंकज धीरले आफ्नो मेहनत र संघर्षको बलमा आफ्नो पहिचान बनाएका थिए। धेरै कठिनाइ र साना–ठूला कामका बाबजुद उनले कहिल्यै हार मानेनन्।

पंकजलाइ महाभारतमा सुरुवातमा अर्जुनको भूमिकाका लागि चयन गरिएको थियो। तर बीआर चोपडाले उनलाई बृहन्नलाको भूमिका (अर्जुनको नपुंसक रूप) पनि निर्वाह गर्नुपर्ने बताएपछि उनले सो भूमिका अस्वीकार गरेका थिए। महाभारतमा उनले कर्णको भूमिका निर्वाह गरेपछि भने उनको करियर र जीवन दुबै बदलियो।

पंकजले सनम बेवफा, बादशाहजस्ता फिल्ममा पनि अभिनभ गरेका थिए। टेलिभिजनमा भने उनले चन्द्रकान्ता, ससुराल सिमरलगायतमा काम गरे। निर्देशकका रूपमा पनि सक्रिय उनले माइ फादर गडफादर नामक फिल्म निर्देशन गरेका थिए। अभिनय एक्टिंग एकेडेमी स्थापना गरी नया पुस्तालाई प्रशिक्षण समेत दिंदै आएका थिए। पंकजको पत्नी अनीता धीर फिल्म उद्योगकी प्रसिद्ध कस्ट्युम डिजाइनर हुन्। पंकज र अनीताले १९ अक्टोबर १९७६ मा विवाह गरेका थिए। विवाहअघि उनीहरू एक–अर्काका नजिकका साथी थिए। पंकज र अनीताका दुई सन्तान छोरा निकितिन र छोरी निकिता धीर शाह रहेका छन्। निकितिनले चेन्नई एक्सप्रेस, शेरशाह र रेडीजस्ता फिल्ममा आफ्नो दमदार अभिनय देखाएका छन्।