काठमाडौं।
हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवित रहेको आशंका गरिरहेकै अवस्थामा उनको मृत्यु भएको औपचारिक जानकारी हमासले दिएपछि सिंगो नेपाल शोकमा डुबेको छ । अन्ततः नेपाली विद्यार्थी विपिन इजरायल र हमासबीचको युद्धमा आततायीहरूको शिकार बन्न पुगेका छन् । यो घटनाले नेपालमा फेरि पनि इजरायल र हमास दुवै पक्षविरुद्ध आक्रोश चुलिएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायको किबुज क्षेत्रमा आक्रमण गर्दा त्यहाँ रहेका १६ नेपाली विद्यार्थीमध्ये १० को मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाएर लगिएको थियो । सोमबार हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकको शव फिर्ता गर्ने घोषणा गरेपछि विपिन जीवित रहेको आशामा एकाएक तुषारापात भएको हो । विपिनको सकुशल रिहाइका लागि नेपालका तर्फबाट लामो प्रयास हुँदै आएको थियो । यद्यपि, आफ्नो नागरिककको समयमा नै खोजी गरेर विपिनलाई जीवित ल्याउन नेपालको कूटनीतिक प्रयास फितलो र असफल देखिएको छ ।
विपिनका आमा र बहिनीले अन्तर्राष्ट्रिय स्तरमा नै विपिनको सकुशल रिहाइका लागि अत्यधिक पहल गरेका थिए । त्यो पनि सफल भएन । हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७ मा ) विपिन गाजा क्षेत्रको अल सिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो भिडियोमा अन्तिमपल्ट देखिएका विपिन जीवित नरहेको जानकारी सोमबार हमासले दिएको हो ।
नेपाल सरकारले पनि विभिन्न समयमा विपिनको सकुशल रिहाइको पहल गरे पनि त्यो प्रयास सफल हुन सकेन । अन्ततः विपिन मारिएको खबर सार्वजनिक भएपछि नेपालीहरू शोकमा डुबेका हुन् । नेपाली विद्यार्थी विपिन अन्ततः आततायीहरूको क्रुर आक्रमणको शिकार भएका हुन् ।
हमासले विज्ञप्ति जारी गर्दै विपिनलगायत अन्य चार जनाको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरे पनि उनको मृत्यु के कसरी भयो भन्ने बारेमा स्वतन्त्र पुष्टि हुन सकेको छैन । हमासका अनुसार फिर्ता गरिएका चार बन्धकका शवमा नेपालका जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । इजरायली सुरक्षा अधिकारीहरूले पनि रेडक्रसमार्फत शवहरू प्राप्त भएको जनाएको छ । होस्टेज एन्ड मिसिङ फोरमले हमासको यो कदमलाई ‘पीडादायी तर महत्वपूर्ण’ भनेका छ । समूहले विज्ञप्तिमा भनेको छ, ‘यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ ।’
हमासले आफ्नो कब्जामा रहेका २० इजरायलीलाई भने सोमबार नै रेडक्रसका अधिकारीहरूमार्फत इजरायलसमक्ष बुझाएको छ ।











प्रतिक्रिया