सैन्य आधार तालिम सम्पन्न, दुई हजार चार सयभन्दा बढी दीक्षित


काठमाडौं।

नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम सोमबार सम्पन्न भएको छ। उक्त तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सहभागी सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए।

नेपाली सेनाका तालिम केन्द्रहरूसहित देशभरका १९ स्थानमा सञ्चालन भएको ९ महिनाको उक्त आधार तालिमबाट २,१०२ जना पुरुष र ३४९ जना महिला गरी कुल २,४५१ जना नयाँ सैनिक दीक्षित भएका छन्।

त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा सम्पन्न मुख्य कार्यक्रमको निरीक्षण नेपाली सेनाका सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाहले गरेका थिए।

त्यसैगरी अन्य तालिम केन्द्र, पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका वरिष्ठ अधिकृतहरूले अन्तिम कवाज निरीक्षण गर्दै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।

तालिम समापन समारोहमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन र स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।