जेनजी अल्फा छोरीलाई जेनजी आन्दोलनको के पाठ सिकाउने ?

एक पिताको अन्तरमनको चिठी र एक नागरिकको चिन्ता

14.1k
Shares

इतिहासका हरेक पाटाले एउटा अमूर्त पाठ सिकाउँछ । इतिहासका ती साहसी र विद्वत् पाइलाले नै सुनौलो भविष्यको पथप्रदर्शक भई गन्तव्य स्थान पहिल्याउँछन् । न त यसअघिका संघर्षहरु व्यर्थ थिए वा भए, न आजका संघर्षहरु व्यर्थ हुनेछन् । क्रान्ति रक्तपातपूर्ण होस् वा शान्तिपूर्ण, क्रान्तिपछिका बाटाहरु कसरी निर्माण हुँदै छन् ? पहिल्याउन जरुरी हुने रहेछ, नभए हरेक समयमा भएका बलिदानहरुलाई श्रद्धाञ्जलि सुम्पनेबाहेक अन्य परिवर्तनको झीनो आशा पनि मर्ने रहेछ । न त गलत छुट्याउन सकियो, न त सही गराउन सकियो, केवल निःशब्द हुने परिस्थितिमा मेरा हजुरबाले देशका लागि गरेको बलिदानका कथा सुनेर, बाले गरेका त्यागका व्यथाका सादा फोटा हेरेर र मेरा काकाले गरेको संघर्ष देखेको मैले साँच्चै जेनजी आन्दोलनको उपलब्धिका बारेमा मेरी जेनजी अल्फा छोरीलाई के पाठ सिकाउने भनेर अलमल्ल परेँ ।

हामी नेपालीमा भरिएको सहनशीलता र स्वीकार्यताको सीमाको शायद नै कुनै दायरा होला, हामी अँध्यारो सहन पनि सजिलै तयार छौं, जलेको राष्ट्रियता स्वीकार्न पनि तत्पर छौं । किनभने हामी आफ्नो अस्तित्वको यकिन आफैँ गर्न नसकेर कसैले भनिदिन पर्ने अवस्थाको बानी परको छौं । अनि अझ लाचार कति छौं भने भविष्यको उज्यालोमा लम्किने हिम्मत नभएर हो कि पहिलेकै अँध्यारोमा फर्किन खोजेजस्तो पनि गर्छौं । लडाइँ कोसँग हो र कसको हो ? अलमल्ल परेका हामी नेपाली जनता बसको अन्तिम सिटमा बसेर खलासीले बस चलाइराखेको देख्ने अनि कन्डक्टरलाई धन्यवाद ठोकेर मख्ख छौं, अबचाहिँ देश बन्छ, अबचाहिँ सुशासन घरदैलोसम्म आफैँ आइपुग्ने आशामा । आशा गर्ने बानी त हामीमा भरिपूर्ण नै छ ।

एउटा अस्वस्थ युगको शिक्षा :

के यस्तो आन्दोलन हाम्रा सन्तानलाई सिकाउने ? मेरी छोरी अझै सानी छे, ऊ रमाउँछे, सोध्छे, जिज्ञासा राख्छे । ऊ जेन अल्फा हो । एउटा यस्तो पुस्ता, जसको जन्म ‘एआई, टिकटक, क्लाइमेट क्राइसिस, जेन्डर डिबेट्स÷डिजिटल वार’ को वाक्यांश सुन्दै शुरु भएको छ । उसले जुन संसार देख्दै छे, त्यो पूर्णतः फरक छ, न पुरानो परम्परावादी, न स्थिर आधुनिक । जसरी मेरो पुस्ताले हजुरबाका कथाबाट जहानिया राणा शासनको बोझ सुने, बाका अनुहारबाट एकतन्त्रीय शासनको रोग बुझे अनि थोरै–थोरै आफैँले राजाको शासनको कु भोगेपछि बल्ल छाती खुल्ला पारेर स्वतन्त्रताको नवीतम सास फेर्न पाए । अनि पो यो स्वतन्त्रताको मूल्य कति भनेर आँकलन गर्न सके । तर हे प्रिय जेनजी ! आज मेरो जेन अल्फा छोरी जुन सामाजिक वातावरणमा हुर्किंदै छे, त्यसमा केवल जेनजीको आन्दोलन, विरोध, आवाज र असन्तोषको गहिरो छाया परेको छ । प्रश्न उठ्छ, म यो छोरीलाई के पाठ सिकाउने ? के उसले विरोध सिक्नुपर्छ ? कि विवेक सिक्नुपर्छ ? के परिवर्तन चाहनु पर्याप्त छ ? कि त्यो परिवर्तन कसरी ल्याउने भन्ने थाहा पाउनु आवश्यक छ ? अझ को भन्ने प्रश्नको प्रत्युत्तर खोज्ने आँट र सामथ्र्य गुमाएको छ मेरो पुस्ताले । किनकि आज जुन आन्दोलन देख्दै छु, कतै त्यो असभ्यतालाई हटाउने नाममा, नयाँ असभ्यता जन्माइरहेको त छैन ?

नयाँ बाटोको खाका कोर्ने कलमले हामीले हाम्रै लागि भनेर कोरेका खाकाहरु मेटिँदै–मेटिँदै छिमेकमा भएका अनेकौं भू–राजनीतिक विलयका अवस्थाले फेरि हाम्रो अस्तित्व नै खोज्न नसक्ने गरी विलय हुने अवस्थामा पो पुग्ने हो कि ! त्यसैले यो लेख, केवल मेरो अभिव्यक्ति होइन, मेरो भावना पनि होइन, केवल मेरी छोरीका लागि समयले मागेको पाठ हो, जसले गर्दा उसले भूत, वर्तमान र भविष्यको आँकलन गर्न सकोस्, शायद जेनजी पुस्ताहरुमा कहीँ कतै त्यही आँकलनमा कमजोरी भएको हो कि !

ऐतिहासिक बलिदानको भूमि :

हामी जुन स्वतन्त्रता भोगिरहेका छौं, त्यो उपहार होइन छोरी । तिमी स्वतन्त्र छौ, हाँस्न, बोल्न, प्रश्न गर्न, असहमत हुन । तर थाहा पाऊ, यो स्वतन्त्रता कुनै एप्लिकेसन डाउनलोड गरेजस्तो सजिलो छैन । यो स्वतन्त्रता तिमीलाई कोहीले उपहारस्वरूप दिएको होइन । यो त तिमीभन्दा धेरै अगाडिका पुस्ताहरूले रगतले लेखेको दस्तावेज हो, बलिदानले जितको अवस्था हो । राणा शासनले जनतालाई नागरिक होइन, केवल प्रजा अनि रैति बनायो, किनकि तिमीमा आफैँमा तिम्रा अधिकार हुँदैनथे । शाही राजतन्त्रले जनता सत्ताबाट टाढा राख्यो, विधि र अधिकार जनताका लागि नभएर राजा र राजपरिवारका लागि समर्पित थिए । अनगिन्ती बलिदानले २०४६ मा जनताले आफूलाई नागरिक महसुस गर्न सक्ने केही अधिकारहरु प्राप्त गर्न सफल भए । २०५२ देखि देश १० बर्से मओवादी जनयुद्धबाट ग्रसित भई अपाङ्गसरह भयो अनि त जनताले फेरि २०६२÷६३ मा अधिकारका लागि लडेर जनता र सत्ताबीचको त्यो दिवार तोडे । कसैले सडकमा गोली थाप्यो, कसैले जेलमा यातना सह्यो, कसैले आफ्नो भविष्य बालुवामा फालेर हामीलाई आजको ‘बोल्न सक्ने समाज’ बनाइदियो । त्यसैले, जब तिमी ठूलो हुन्छ्यौ, छोरी ! म चाहन्छु कि तिमी आन्दोलन देख्दा केवल रिस नदेख, तिमी त्यसको इतिहास देख । तिमी आफूले व्यक्तिगतरुपमा भोगेका पीडालाई मात्र महसुस नगर, देशको अवस्था र देशको पीडालाई पनि महसुस गर । तिमीलाई दुख्दा देशलाई पनि दुख्छ, देशलाई दुख्दा तिमीलाई पनि दुखोस् ।

जेनजी आन्दोलन :

कठै ! हेर त बलिदानमा शहीद भएका ती शरीरहरुको अन्तिम अंश, ती खरानी बगेर गंगासम्म मिसिन पुगिसकेका पनि थिएनन् । ती घाइतेका घाउहरु अझै पनि आला छन्, रत्तिभर पनि भरिएका छैनन् । ती साहसी छोराछोरीका आमा–बाहरुका आँसुहरु थोरै पनि रोकिएका छैनन् । तर यो देशका मैदानमा के–कस्ता दानव के–कसरी नाचिरहेको देख्दा अनि फेरि पनि कतै आगोको ज्वाला दन्किन्छ कि भन्ने डरले, कालो बादलजस्तो देखिने तर देश जलेको कालो मुस्लोले पूरा देश अन्धकारमय हुन्छ कि भन्ने डरले यो वीरताको प्रतीक जेनजी आन्दोलन लाग्छ– साहसपूर्ण तर अधुरो चेतनाको ज्वार ।

हाम्रो वरिपरिको अहिलेको पीढी जेनजी विद्रोह गर्न डराउँदैन । किनभने यो पुस्ता बेथिति र कुशासनले जकडिएर उकुसमुकुस भएको छ । उनीहरू असहमति जनाउँछन्, प्रश्न उठाउँछन् र ‘किन ?’ भन्न जान्दछन् । ती सबै गुणहरू प्रशंसायोग्य छन् । तर यिनै गुणहरू कतिपय अवस्थामा संवेदनशीलताविहीन, आक्रोशप्रधान र तात्कालिकतामा आधारित हुन्छन् । उनीहरू तुरुन्तै परिवर्तन चाहन्छन् । तर कहिलेकाहीँ उनीहरूले त्यो परिवर्तन कसरी सम्भव छ भनेर बुझ्न चाहँदैनन् । अनि ती चाहना र वास्तविकताबीचको दूरी मापन अरु कसैले गर्छ अनि भोगाइ पुस्तौंपुस्तामा हस्तान्तरण हुन्छ । मेरी छोरी ! क्रान्ति भनेको रिस होइन, क्रान्ति भनेको दिशाको खोज हो । परिवर्तन भनेको देखिने हो, महुसुस गर्ने र गराउने हो । तिमीले भविष्यमा विरोध गर्नुपर्ला तर विरोध गर्नुअघि बुझ्न सिक, श्रवण गर र सामना गर । केवल आवाज उठाउनु होइन, समाधान खोज्ने संस्कार विकास गर ।

नेपालजस्तो मुलुकमा आन्दोलनको मूल्य :

हामी कहाँ उभिएका छौं ? छोरी ! नेपाल केवल ‘हाम्रो देश’ मात्र होइन, यो एक संवेदनशील भूराजनीतिक खेल मैदान हो । हामी भारत र चीनका बीचमा छौं, जहाँ एकैपटक दुईतर्फी प्रभावहरूको सन्तुलन मिलाउनुपर्छ । मिल्दै जाँदा विकसित राष्ट्रहरुसँग पुर्खाले राखेका सम्बन्धमा अवमूल्यन गर्नुहँुदैन । आजका आन्दोलनहरू केवल आन्तरिक मुद्दामा सीमित छैनन् । हामी यस्तो खेल मैदानमा छौं, जसको गोलरक्षक पनि हाम्रो हैन अनि रेफ्री पनि स्वतन्त्र छैन । यदि हामी अराजक भयौं भने हामी खेलमा नरहन पनि सक्छौं । किनकि हाम्रो कमजोरीमा विदेशी हस्तक्षेप हुन्छ । यदि हामी भ्रमित भयौं भने हाम्रो स्वतन्त्रताको मूल्य हराउँछ, अस्तित्व विलय हुन रत्तिभर पनि समय लाग्नेछैन । जनजीले त्यो चेतना राख्दैन भने, जेन अल्फा तिमीहरूको पुस्ता अझ ठूलो अन्योलमा पर्न सक्छ । त्यसैले म चाहन्छु, तिमी केही गुमाइसकेको राष्ट्रियतामा हैन, सजग, विवेकशील, र सुसंस्कृत राष्ट्रियतामा बाँच । तिम्रो आफ्नो राष्ट्रियता तिमीले चलाउने एआई, टिकटक, फेसबुक आदिका कन्टेन्टमा हैन, तिम्रो अन्तरात्माभित्र खोज्ने सामथ्र्य राख ।

सभ्यताको मूल्य :

के हामी सुधारको नाममा जरा उखेल्दै छौं ? ‘असभ्यता मास्न सिकाइएको असभ्यता’ यो आजको विरोधको स्वरूपमाथिको गम्भीर टिप्पणी हो । जब संवादको साटो चिच्याहट हुन्छ, जब विरोधको नाममा सार्वजनिक सम्पत्ति जलाइन्छ, जब मान्यताको अपमान स्वतन्त्रताको संज्ञा बन्छ, त्यो सुधार होइन, त्यो नयाँ किसिमको अराजकता हो । खराबलाई परास्त गर्न खराब नै हुनुपर्छ भन्ने मान्यताले समाजलाई खराब बनाउँछ र देशलाई खराब बनाउँछ अनि जति नै विकास र स्वतन्त्रताको परिकल्पना गरे पनि खराब समाजले अन्धकार मात्र प्राप्त हुन्छ, असहिष्णुता मात्र हासिल हुन्छ ।

नेपाली सभ्यताको आफ्नै मूल्य र मान्यता रहेको छ । हामी साहसी छौं तर सहासको गलत प्रयोग गर्न हाम्रो आत्माले अनुमति दिँदैन । छिमेकी नबोल्दाको रिस छिमेकीको घर आगो लगाएर पोख्ने सभ्यताको अनुशरण गर्ने पक्कै हाम्रो सभ्यता होइन र कहिल्यै नहोस् पनि । छोरी ! म तिमीलाई आन्दोलन गर्न हुन्न भन्छु भन्ने होइन । तर म तिमीलाई सिकाउँछु ‘कसरी’ आन्दोलन गर्ने भन्ने कुरा, ’किन’ आन्दोलन गर्नु भन्दा गाह्रो हुन्छ भनेर । हरेक आन्दोलनले नयाँ युगलाई जन्म दिन्छ, यदि त्यो राष्ट्रियताका लागि राष्ट्रियता नै साक्षी राखेर लडियो भने । तर राष्ट्रियताका लागि शुरु भएर अन्त्यचाहिँ कसैको उक्साहटमा राष्ट्रियता बाजी राख्ने अवस्थामा पुग्छ भने त्यो मातृभूमिप्रति धोखा हुन्छ, रगत बगाएका शहीदप्रति अन्याय हुन्छ । त्यसैले भन्छु, सभ्यता भनेको केवल विगत होइन, त्यो भविष्य हो, जसले राष्ट्रियता तिमीभित्र अटाउन सहारा खोज्छ । तिमीले जे तोड्नेछ्यौ आज, त्यो तिमीले नै बनाउनुपर्नेछ भोलि । र, यदि तिमीले जरा नै उखल्यौ भने, केही बनाउने ठाउँ बाँकी नै रहँदैन ।

म मेरी छोरीलाई के पाठ सिकाउँछु ? एउटा उत्तरदायी पाठशाला, छोरी ! यहाँ म तिमीलाई दिन चाहन्छु केही पाठहरू । यी केवल सल्लाह होइनन्, यी सिंगो देशले सिकेका पाठहरू हुन्– जति सचेत बन, उति नम्र रहु । धेरै कुरा थाहा हुनु ठूलो कुरा होइन, अरूको दृष्टिकोण सुन्न सक्नु अझ ठूलो हो । विरोध गर तर मूल्यको लागि गर । भीडमा उभिन त सजिलो छ तर सत्यका लागि एक्लै उभिन सक्नुपर्छ । आधुनिक बन्नु तर जरा बिर्सेर होइन । संस्कृति बोझ होइन, त्यो पहिचान हो । इतिहास कागज मात्र हैन, यो त भविष्यलाई डो¥याउने पथप्रदर्शक हो । नेता बन्नुअगाडि जिम्मेवार नागरिक बन । क्रान्ति केवल भाषणले हुँदैन, विवेकले हुन्छ । क्रोधमा होइन, करुणामा सुधार खोज । क्रान्तिको रङ्ग रातो हो तर आधार प्रेम र सहिष्णुता हुनुपर्छ । यदि तिमीले पनि केवल रिसमै उत्रन सिक्यौ भने तिम्रो उज्ज्वल भविष्यका लागि शुरु भएको परिवर्तन कहीँ पुग्नेछैन । तर यदि तिमीले इतिहास बुझ्यौ, विवेक प्रयोग ग¥यौ र सम्पूर्ण समाजका लागि उभियौ भने, त्यो दिन म गौरवले भन्छु– ‘म यो युगकी छोरीको बाबु हुँ ।’ अन्त्यमा एक वाक्यमा– ‘मेरी छोरी ! विरोध गर, नेतृत्व गर तर पहिले बुझ । किनभने तिमी भविष्य हौ, केवल पीढी होइन, सम्भावना पनि ।

(लेखक कार्की सी.ए. हुनुहुन्छ ।)