जेन- जीलाई भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा


काठमाडौँ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ‘जेनजी आन्दोलन’को नाममा स्थानीय समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत सेयर निःशुल्क प्राप्त गरेको छ।

‘भोटेकोशी जेनजी ग्रुप’को अगुवाइमा गरिएको आन्दोलनपछि आयोजनाको काम एक महिनासम्म ठप्प भएको थियो। कम्पनीले सुरुवातमा निःशुल्क सेयर दिन नसकिने बताएको भए पनि दबाब बढेपछि आइतबार भएको सहमतिपछि आयोजनाको कार्य पुनः सञ्चालनमा आएको हो।

सम्झौताअनुसार, भोटेकोशी पावर कम्पनीले आफ्नै सेयरमध्येबाट १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडमार्फत प्रभावित स्थानीयलाई प्रदान गर्नेछ। यसअघि स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति भइसकेको थियो, जुन सम्झौता अनुसार थप ४ प्रतिशत बढाएर १० प्रतिशत पुर्‍याइएको छ।

सम्झौतापत्रमा जेनजी कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।