काठमाडौँ।
धादिङमा प्रहरीले भारतबाट ल्याइँदै गरेको २१९.२१ केजी गाँजा र करिब १२० ग्राम अफिमजस्तो देखिने कालो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका–९, खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखिएको BR 01 GB 8653 नम्बरको भारतीय टाटा मिनी ट्रकमा लागुऔषध लुकाइएका थिए।
गोप्य सूचनाको आधारमा खटिएको जोगिमारा प्रहरी चौकीको टोलीले शुक्रबार बिहान करिब ५:४० बजे ट्रक जाँच गर्ने क्रममा क्याबिन पछाडिको फल्स बटनभित्र रातो प्लास्टिक र कालो डोरीले बाँधिएको अवस्थामा ३० वटा पोका फेला पारेको थियो। ती पोखाहरूबाट २१९.२१ केजी गाँजा र १२० ग्राम अफिमजस्तो पदार्थ बरामद गरिएको जनाएको छ।
उक्त घटनामा संलग्न दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर मिनी ट्रकसहित जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ।











प्रतिक्रिया