क्याम्ब्रियन पेट्रोल अभ्यास २०२५ मा नेपाली सेनालाई स्वर्ण पदक


काठमाडौँ।

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको क्याम्ब्रियन पेट्रोल अभ्यास २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार वेल्सको ब्रेकनमा आश्विन २३ देखि २५ गतेसम्म भएको उक्त सैन्य अभ्यासमा ३३ राष्ट्रका ११७ टोली सहभागी भएका थिए।

दुई दिनभित्र करिब ५० पौण्ड बराबरको उपकरण बोकेर ५० किलोमिटर दूरी पार गर्नुपर्ने उक्त अभ्यासमा सहभागी टोलीहरूको तयारी, सूचनासङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनजस्ता सैन्य दक्षताको परीक्षण गरिन्छ।

सन् १९६० देखि हरेक वर्ष सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि नियमित रूपमा भाग लिँदै आएको छ। यसअघि पनि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो।