काठमाडौं ।
गाजामा हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरूको सूचीमा नेपाली युवक विपिन जोशीको नाम समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
हालै इजरायल र हमासबीचको वार्तासँग सम्बन्धित स्रोत उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय मिडियाले गाजामा रहेका २२ जना जीवित बन्धकहरूको अद्यावधिक सूची सार्वजनिक गरेका छन्, जसमा नेपालको कास्कीका विपिन जोशीको नाम पनि समावेश छ ।
विपिन जोशी गत वर्षको अक्टोबर महिनामा इस्रायलको दक्षिणी क्षेत्रमा रहेको एक कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आकस्मिक आक्रमणमा परेका थिए । सो घटनापछि उनी सम्पर्कविहीन भएका थिए ।
त्यसयता नेपाल सरकारले इस्रायलसँग निरन्तर समन्वय गर्दै आएको र जोशीको अवस्थाबारे आधिकारिक पुष्टि गर्न पहल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, अन्तर्राष्ट्रिय मिडियामा आएको रिपोर्ट हामीले अध्ययन गरिरहेका छौँ । इजरायली पक्षसँग थप पुष्टि लिने प्रक्रिया सुरु भइसकेको छ ।
गाजामा हाल हमासको नियन्त्रणमा रहेका बन्धकहरूको अवस्था निकै गम्भीर रहेको बताइँदै आएको छ । इजरायली सेनाले विभिन्न अपरेसनमार्फत केही बन्धकलाई उद्धार गरे पनि अझै दर्जनौँ विदेशी नागरिक हमासको नियन्त्रणमा रहेको मानिन्छ ।
विपिन जोशीसहित अन्य बन्धकहरूको अवस्थाबारे इस्रायल–हमासबीचको वार्ता मार्फत केही सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले जोशीको सुरक्षित उद्धारका लागि आवश्यक सबै कूटनीतिक प्रयास जारी राख्ने जनाएको छ ।











प्रतिक्रिया