परिवर्तनको आक्रोशमा अग्निज्वाला दन्किनु र खरानी बनेर सकिनु कम पीडादायी पल होइन । परिवर्तनको आक्रोश र आवाजलाई गोलीले दमन गर्ने नीति कुनै सत्ताका निम्ति पनि श्रेयष्कर हुँदैन । अन्ततः भोलिको उज्यालो खोज्दै, पढाइमा डुबेर भविष्य बुन्दै, संसारसँगै दौडिन चाहने ती विद्यार्थीहरूको दोष आखिर के थियो ?
तर सत्ताले जवाफ दिनुको साटो गोली दियो । छाती र टाउकोमा निशाना ताकियो । अबोध विद्यार्थीका छातीबाट रगत बग्यो । त्यो रातोपन केवल पीडाको नभई देशकै भविष्य च्यातिएको कपडाजस्तो थियो । यस्तो सरकार कसरी अभिभावक भन्न सकिन्छ ? अभिभावक त छाया हो, माया हो, रक्षा हो तर विवेक हराएपछि, दम्भ मात्र बाँकी रहन्छ । सत्ता अभिभावक होइन, निर्दयी जल्लाद बनिन्छ । अहंकारी, अत्याचारी र अशुभ समाचारको विषय बनिरहन्छ ।
युवाहरूको आन्दोलन रगतमा टुंगिएन । उनीहरूको ज्वालामुखीजस्तो क्रोध भ्रष्ट नेताहरूको महलसम्म पुग्यो । परन्तु यसमा स्पष्ट देखियो घुसपैठ । फलतः नराम्ररी धनसम्पत्ति नष्ट गरियो । सरकारी र निजी भव्य भवन ध्वस्त पारियो । हेर्दाहेर्दै सरकारी भवनहरू अग्निज्वालामा लपेटिए । झन्डा फहराउने, मुस्कानको वातावरण र जिन्दावादले घन्किने भवनमा खरानी उड्यो । कागजका फाइल मात्र होइन, जनताको सपना, इतिहासका पानाहरू नै आगोमा दन्दनी बल्यो । त्यहाँ काम गर्ने निर्दोष पसिना, सपना सबै खरानीमा परिणत भए । परिवर्तनप्रति हर्षको बीचमा खरानीको बिस्मातले मुटु चिरेर रोयो । मूल्यवान् कागपत्र, अभिलेखहरू डढाइयो । प्रमाण सधैँका निम्ति सबै समाप्त पार्ने अभियान चालियो ।
देश आज विरोधाभाषको चित्र बनेको छ– एकातिर भ्रष्ट नेताहरूको पतनको आनन्द, अर्कोतिर आफ्नै सम्पत्ति खरानी बनेको पीडा । आकाशमा कालो धुवाँ र मनमा कालो बादल दुवै छन् । बाटोमा हर्षको नारा र कोठामा मौनताको आँसु दुवै छन् । विरोध र आक्रोश पोख्नु त पोख्नु यति साह्रो अग्निज्वालामै भष्म पार्ने नियत असल भएन । त्यो सम्पत्ति, त्यो घर ती सबै भ्रस्टाचार गरेरै मात्र कमाएका कदापि थिएनन् होला । त्यसमा पुख्र्यौली सम्पत्तिको आर्जन पनि थियो । केहीले गरे होला तर एउटै तराजुमा सबैलाई राखेर जोख्दा कति निर्दोष आत्मा रोइरहेको छ ।
यस्तो बेला प्रविधिलाई बन्द गरेर पुस्तालाई अन्धकारमा फ्याँक्ने काम अझ घातक भयो । प्रविधि आजको जीवनको उज्यालो हो, चेतनाको घाम हो । त्यसलाई बन्द गर्नु भनेको आँखामा पट्टी बाँधेर उज्यालो खोजी गर्नुजस्तै हो । नवजागरणको उद्घोष गर्दै विद्यार्थीकै उही पहिचानमा सडकमा ओर्लिएका आफ्नै सन्तानलाई सम्झाइ–बुझाइ गर्नुको सट्टा बोली र गोलीले सखाप पार्ने रणनीति अन्ततः आफूहरूकै सत्ता समाप्त पार्ने निहुँ भइदियो ।
इतिहासले यस्ता विवेकविहीन सत्तालाई कहिल्यै क्षमा गर्दैन । गोलीले लागेको घाउ निको होला, तर त्यो दुःखद स्मृति र त्यसले पारेको घाउको खाटा कहिल्यै बिलाउँदैन । र, बेलाबेला बल्झिएर पुस्तौँ रहिरहन्छ । जसरी अग्निज्वालाको धुवाँ उडेर आकाशमा हराउला, तर डढेर रहेको खरानीको गन्ध पुस्तौँसम्म कतै न कतै चिनो बाँकी रहन्छ ।
यससँगै जोडिएको थियो– लिम्पियाधुरा, लिपुलेक सिमाना विवादको पीडा । यसै गरी इम्बोस्ड नम्बर प्लेटको अनिवार्य व्यवस्था, राष्ट्रिय परिचयत्रको झन्झटिलो प्रक्रियालगायत यस्ता अनेकौँ समस्या, जुन सर्वसाधारण जनताका लागि अनिवार्य आवश्यकता थिएन तर सरकारले अनिवार्य गर्ने निर्णय गरिसकेको थियो । यसमै आगोमा घिउ थप्ने काम भइदियो ‘समाजिक सञ्जाल बन्द’ को कठोर र अदूरदर्शी निर्णय । यी सबै गलत निर्णय सर्वसाधारणका लागि कष्टकर छँदै थियो । खासमा सुकिलामुकिला, सत्ता सन्निकटहरूकै जताततै हालिमुहालीमा जनता आजित भइसकेका थिए । आखिर त्यो एकदिन सर्वनाशको रूपमा विष्फोट हुनु थियो, भइदियो । यत्ति मात्रै हो गुण र दोषको भागिदार सत्तासीन भ्रष्ट व्यक्ति र परिवारसँगै अरूले पनि सती जानुप¥यो ।
भ्रष्टाचारको विरोध र सुशासनको स्थापना हेतु गरिएको ‘जेन्जी आन्दोलन’ विध्वंसतर्फ मोडिँदाको विषम परिस्थितिले देशलाई अर्बौंको अपूरणीय क्षति व्यहोर्न बाध्य पारिदिएको छ । यसमा निश्चय घुसपैठ भएको छ । मौकामा चौका हान्ने अर्काको घरमा आगो लगाउने, सवारीसाधन तथा सरकारी भवन जलाउने देशघातीको पक्षमा कोही पनि लाग्नुहुँदैन । तिनको छानबिन होला, हुनुपर्छ । कडाभन्दा कडा सजायको भागिदार पनि तिनले बन्नै पर्छ । यस्ता अराजक व्यक्ति उम्किनु र उम्काउनुहुँदैन ।
अन्ततः युवाहरूको क्रान्तिले भ्रष्ट नेताहरूको पतन त गरायो– तर सँगै आफ्नै सम्पत्तिको खरानी देख्दा देशले रुनै पर्छ । र, यो आँसु मात्र आँसु होइन, भविष्यप्रतिको चेतावनी पनि हो । देश र जनताका लागि, निःस्वार्थ भावले सबैका भलो हुने काम अब पनि भएन भने देश र जनता फेरि अर्को आन्दोलनमा अग्रसर हुने अवस्था नआओस् । किनकि– गोलीले सपना रोकिन्न, ज्वालाले चेतना खरानी बन्न सक्दैन । तर स्वार्थ प्रेरित भई विवेकविना गरिएको हरेक एकल निर्णयले देशको आत्मामा गहिरो चोट थपिरहन्छ ।
आजको युगमा जहाँ प्रविधिले मानिसलाई एक–अर्काको नजिक ल्याएको छ, जहाँ ज्ञानको पहुँच सहज भएको छ, त्यस्तो बेला सरकारले इन्टरनेट र प्रविधि बन्द गरेर आजका युवाहरूलाई ढुङ्गे युगतिर धकेल्न खोज्यो । यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा थियो ।
तर, यस्ता अमानवीय र अविवेकी निर्णयहरूको मूल्य चुकाउनै प¥यो । इतिहास साक्षी छ कि दमन र हिंसाले कहिल्यै कुनै क्रान्तिलाई रोक्न सकेको छैन । आज गरिएका यस्ता निर्णयहरूको मूल्य सरकारले एक न एकदिन चुकाउने निश्चित थियो । किनकि, अब युवाहरूले टाउकोमा मात्रै हैन, विवेकमा पनि चोट खाएका छन् । उनीहरू आफ्नो भविष्यको लागि कुनै पनि हदसम्म जान तयार छन् ।
परिवर्तनको उज्यालो यात्रामा हिँड्ने चाहना सबैको हुन्छ । त्यसमाथि युवा पुस्ताको रहर झन् संसारै जित्ने हुन्छ । परिवर्तनको नाममा हामीले थुप्रै युगहरू हिँड्यौँ । कतै उठान भयो, कतै पतन भयो, कतै आँसु बग्यो, कतै आशाको दियो बल्यो । तर, आजको यो परिवर्तन अन्त्यको कुनै प्रस्थान विन्दु नबनोस् भन्ने चाहना हरेक सचेत आत्माको प्रार्थना हो । किनभने परिवर्तन केवल शासन बदलिने खेल मात्र होइन, यो त राष्ट्रको आत्मा फेरि जाग्ने क्षण हो । नवनिर्माणको प्रस्थान विन्दु पनि हो ।
राष्ट्र हाम्रा सपनाहरूको साझा उद्यान हो– जहाँ माटोको सुवास, नदीको गुनगुन र हिमालको न्यानोपन मिसिएको छ । त्यो उद्यान सधैँ सार्वभौम रहोस्, कसैको छायामा कहिल्यै नपरोस्, यही सन्तानले यही धरतीमा गर्व गर्न पाओस् । सार्वभौमत्व केवल नक्सामा सीमारेखा कोर्ने कुरा होइन, यो त हाम्रो आत्मसम्मानको जरा हो, जसलाई हरेक पुस्ताले आफ्नो रगत र पसिनाले सिंचाइ गर्दै आएको छ ।
जनता जागे भने मात्र राष्ट्र साँच्चै जीवित हुन्छ । जनताको आँखा बन्द भए देश अँध्यारोमा डुब्छ, जनताको स्वर मौन भए मुलुक नीरव शून्यताले चिरा परेको घाँटीजस्तो सुनसान हुन्छ । तर जनता उठे भने– पर्वत गुञ्जिन्छ, नदी उत्साहित हुन्छ, अनि चट्टान पनि गर्वले पग्लिन्छ । यही भएर हामी चाहन्छौँ– जनता सधैँ जागिरहुन्, सधैँ बाँचेको अनुभूति गराइरहियोस्, गरियोस् ।
इतिहासले देखाएको छ– निदाएको जनता जहिल्यै दलालहरूको पाउको माटो बनेको हुन्छ । तर, सचेत र जागेको जनता कुनै पनि अँध्यारोलाई चिर्न सक्ने उज्यालो सूर्य हो । यही सूर्यबाट राष्ट्रको बगैँचामा फेरि फूलहरू फुल्छन्, गीतहरू गुन्जिन्छन् र भविष्यका पुस्ताले स्वतन्त्रताको मिठास चाख्न पाउँछन् ।
यसैले, हाम्रो यही विन्ती छ– यो परिवर्तन कुनै सत्ता–सुखको क्षणिक तृप्ति बन्नुहुँदैन । फेरबदलको विगत इतिहास फेरि दोहोरिनुहुँदैन । यो नै होस् नयाँ यात्राको दिगो बाटो, जहाँ सार्वभौम राष्ट्रले गर्वका कदमहरू चालिरहोस् र जनता सामान्य समस्या, दुःखमा नअल्झी आफ्नो पहिचानसँग सुख र सन्तुष्टिपूर्वक सधैँ बाँचिरहुन् ।
परिवर्तन एक यस्तो यात्रा हो, जसको कहिल्यै अन्त्य हुँदैन । यो एक निरन्तर प्रक्रिया, जसले समाजलाई नयाँ दिशा दिन्छ, जीवनलाई नयाँ अर्थ दिन्छ र भविष्यलाई उज्ज्वल बनाउँछ । तर, प्रायः हामीले परिवर्तनलाई एउटा गन्तव्य मानेर हिँड्छौँ र जब त्यो गन्तव्यमा पुग्छौँ, तब सबै कुरा समाप्त भयो भनेर सोच्छौँ । यही सोचाइले हामीलाई फेरि शून्यमा ल्याएर निस्किनै नसकिने खाडलमा जाकिदिन्छ ।
मेरो भावना छ– अन्त्यको कहिल्यै प्रस्थान विन्दु नहोस् परिवर्तन । परिवर्तन कुनै अन्तिम गन्तव्य होइन, बरु यो त निरन्तर चलिरहने एक नदीजस्तो हो, जसको प्रवाह कहिल्यै रोकिनुहुँदैन । हामीले आज जे हासिल गरेका छौँ, त्यो भोलिको लागि पर्याप्त छैन । हरेक दिन हामीले आफूलाई, समाजलाई र राष्ट्रलाई अझ राम्रो बनाउनको लागि काम गर्नुपर्छ । परिवर्तनलाई राजनीतिक नारा वा घटनाको रूपमा हेर्नुको सट्टा, हामीले यसलाई आफ्नो जीवनशैलीको एक सकारात्मक हिस्सा बनाउनुपर्छ ।
हाम्रो देश युगौँदेखि एक सार्वभौम राष्ट्रको रूपमा उभिएको छ । यो कुनै आकस्मिक कुरा होइन, बरु हाम्रा पुर्खाहरूको त्याग, बलिदान र समर्पणको परिणाम हो । त्यसैले, ‘राष्ट्र सधैँ–सधैँ सार्वभौम भई बाँचिरहोस्’ भन्ने हाम्रो सामूहिक सपना हो । यो सपना साकार पार्नका लागि हामीले केवल राजनीतिक स्वतन्त्रता मात्र होइन, आर्थिक र सामाजिक स्वतन्त्रतालाई पनि सुनिश्चित गर्नुपर्छ । जबसम्म देशको हरेक नागरिकले स्वतन्त्र र सुरक्षित महसुस गर्दैन, तबसम्म राष्ट्रको सार्वभौमिकता अधुरो हुन्छ ।
र, सबैभन्दा महत्वपूर्ण कुरा, ‘जनता जागेको र बाँचेको सधैँ देख्न पाइयोस्’ । कुनै पनि राष्ट्रको वास्तविक शक्ति जनता नै हुन् । जब जनता जाग्छन्, तब राष्ट्रमा चेतनाको दियो बल्छ । जब उनीहरू बाँच्छन्, तब राष्ट्रको मुटु धड्किन्छ । जाग्नु भनेको विरोध गर्नु मात्र होइन, आफ्नो अधिकार र कर्तव्यप्रति सचेत हुनु हो । बाँच्नु भनेको श्वास लिनु मात्र होइन, सम्मान, सुख र सुरक्षाका साथ जीवन जिउनु पनि हो ।
यो लेख मेरो भावनाको प्रतिरूप हो– एक यस्तो आशा, जसले परिवर्तनलाई निरन्तरता दिन, राष्ट्रलाई सार्वभौम बनाउन र जनतालाई सधैँ जागृत र जीवित राख्नका लागि आह्वान गर्छ भन्ने मेरो विश्वास छ । यो सपना साकार पार्न हामी सबै एकजुट भएर लाग्नुपर्छ । परिवर्तनको यो लडाइँमा निर्दोषहरूको रगत खेर जानेछैन । उनीहरूको बलिदानले भविष्यमा एउटा सुन्दर र न्यायपूर्ण समाजको निर्माण गर्नेछ । यद्यपि यस्तो कदापि पनि नहोस्– अब फेरि छेपाराहरूले रङ्ग फेर्नेछन् । आँसु र क्रान्तिका गीतहरू घन्किनेछन् । आफ्ना कलंकित दिनहरूलाई गफका सुकिला पानीले पखाल्नेछन् । आफ्नाले कमाएको ‘कालो धन’ लाई ‘सेतो’ बनाउने प्रयत्नमा फेरि लाग्नेछन् । त्यसैले परिवर्तनको आक्रोशमा अग्निज्वाला बाल्नु मात्रै ठूलो कुरा हुँदैन, अब खण्डहर संरचना निर्माणमा निःस्वार्थ भावनाले जुट्नु र खरानी पार्ने तत्वहरूलाई कारबाही अति आवश्यक छ ।











प्रतिक्रिया