‘आफ्नो आँखालाई माया गरौं’ भन्दै मनाइयो विश्व दृष्टि दिवस २०८२


काठमाडौं ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाइने विश्व दृष्टि दिवस २०२५ को अवसरमा प्रत्येक वर्षझैं यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो साता आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै मनाएको छ । यस वर्ष अक्टोबर ९ तारिखका दिन विश्व दृष्टि दिवसको ‘आँखालाई माया गरौं’ भन्ने नाराका आँखा परीक्षण गरियो ।

यस नाराले आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षहरूलाई समुदाय र कार्यस्थलस्तरमै जनचेतना तथा व्यावाहारिक परिवर्तन जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गरेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

नेपालको हालैको सर्वेक्षण २०२१ अनुसार अन्धोपनको दर १.१ प्रतिशत रहेको छ र दृष्टि कमजोर हुनेको दर २०.७ प्रतिशत रहेको छ । महिलामा अन्धोपन दर १.३ प्रतिशत भने पुरुषमा ०.९ प्रतिशत रहेको छ । प्रदेशअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी अन्धोपन १.८ प्रतिशत र वागमती तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ०.७ प्रतिशत रहेको छ । अन्धोपन र दृष्टि कमजोर हुनुका मुख्य कारणहरूमा मोतिविन्दु ६५.२ प्रतिशत र अन्यमा कोर्नियल अप्यासिटी, जलविन्दु र उमेर सम्बन्धित म्याक्युलर डिजेनरेसन (पर्दा÷रेटिना) सम्बन्धी रहेका छन् ।

नेपालमा विश्व स्वास्थ्य संगठनको आई केयर सिचुएसन एनलाइसिस प्रयोग गरेर गरिएको विश्लेषण अनुसार, नेत्र–स्वास्थ्य सेवाहरूका स्वास्थ्य प्रणालीका स्तम्भहरू (नेतृत्व र शासन, सेवा प्रदान गर्ने पहुँच, गुणस्तर, मानव स्रोत र पूर्वाधार, वित्त पोषण, सूचना प्रणाली) मा सुधार गर्नुपर्ने र अवसरहरूलाई प्रकाश परिएको छ । मानव स्रोत पर्याप्त भए पनि सबै भूभागमा समान रूपमा वितरण नभएको, बाग्मती प्रदेशमा नेत्र चिकित्सकहरूको संख्या धेरै भए पनि कर्णाली क्षेत्रमा धेरै कम हुनु, पहुँचमा ब्रिद्धि गर्न, सर्वसुलवता र गुणस्तर सुनिश्चित गर्ने उपायहरू सुधारका लागि आवश्यक देखिएका छन् उपलब्धिका रूपमा आखा स्वास्थ्य रणनीति र कार्यक्रमहरू प्रभावकारी भएको देखिएको छ ।

मोतिबिन्दुको शल्यक्रिया दर र गुणस्तरको परिणाममा सुधार भएको छ । यस रिपोर्टले नीति–निर्माताहरू र कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य सेवाहरू सुदृढ बनाउन र इन्ट्रिग्रेटेड पिपुल सेन्टरर्ड आई केयरको लक्ष्यतर्फ अघि बढ्नका लागि प्राथमिकता क्षेत्रहरू निर्धारण गर्न मद्दत पु¥याएको छ । विश्वमा भएका विभिन्न अध्ययन अनुसार, पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरूको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरूको आँखामा विभिन्न समस्याहरू बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसंख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पूर्वानुमान गरेको छ । जसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दे समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टिसम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरू आँखा उपचार सेवाबाट बन्चित छन् । त्यस्तै नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ७ लाख बालबालिकाहरूमा उपचारको पहुँच पुगेको छैन ।
यस वर्षको नाराको व्यावहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रूपमा विभिन्न कार्यस्थल बालमैत्री क्षेत्रहरू जस्तै विद्यालय, समुदायमा, तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा रोग विभागलगायतमा स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरिरहेको छ । काठमाडांै उपत्यका र तिलगंगा आँखा प्रतिष्ठानका शाखाहरूका विभिन्न विद्यालयमा बालबालिकाको आँखा जाँच स्थानीय सरकार, रेडक्रस, रोटरी, लगायत अन्य संघसंस्था आदिको सहकार्यमा सम्पन्न गरिएको छ ।

त्यस्तै, प्रतिष्ठानले बालबालिकाको उपचार पहँुचलाई ध्यानमा राखी विद्यालय आँखा परिक्षण शिविर, प्रहरी तथा अन्य सुरक्षा निकायका कार्यस्थलमा आँखा परीक्षण शिविर र नेपाल पत्रकार महासंघको सहकार्यमा सञ्चारग्राममा सञ्चारकर्मी तथा पत्रकारलाई लक्षित गरी आँखा परिक्षण शिविर सञ्चालन गरेको छ । त्यस्तै देशभरका विभिन्न स्थानका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरूमा सचेतना वृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गरिएको छ ।

यसबाहेक, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिका विशेषत विद्यार्थीहरूको आँखा स्वास्थ्यलाई ध्यानमा राखी २०२५÷२६ को वार्षिक कार्ययोजना बनाई तालिकाअनुसार आँखा जाँच, चस्मा उपलब्धता र प्रयोगको सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मूल रूपमा बालबालिका, अभिभावक, विद्यालय र संरक्षकहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष प्रतिष्ठानले सोहीअनुरूपका अडियो–भिडियोलगायतका अन्य प्रचार सामग्री तयार गरी समुदायमा प्रसारण गरेको जनाएको छ ।

बच्चा जन्मेको १ महिनामा, स्कुल भर्ना गर्नुअघि, र त्यसपछि प्रत्येक वर्ष वर्षमा अनिवार्य रूपमा बच्चाको आँखा जँचाउनुपर्दछ भन्ने सन्देशमा जोड दिँदै, आँखा रातो भएमा, डेढो भएमा, आँखाले देख्न धमिलो भएमा, आँखा दुखेमा, चिप्रा लागिरहेमा, आँसु बगिरहेमा, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा, आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समयअगावै जन्मिएमा र कम तौल जन्मिएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र तथा अस्पतालमा गएर आँखा जाँच गराउन आह्वान गरिएको छ ।

यी सन्देशहरूलाई सबैमाझ प्रवाह गर्न र बालबालिकाको आँखा समस्या पहिचान तथा सही समयमा उपचारका लागि सञ्चार माध्यमको अतुलनीय भूमिकालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिको अलावा प्रतिष्ठानले यस विज्ञप्ति सार्वजनिक गरेको हो ।

तिलगंगा आँखा प्रतिष्ठानले १–उत्कृष्टता केन्द्र अस्पताल, ३ वटा सामुदायिक आँखा अस्पताल, २६ वटा सर्जिकल तथा सामुदायिक आँखा केन्द्र र ५४ स्थानीय तहमा एकीकृत आँखा एकाइमार्फत वार्षिक रूपमा ७ लाख बिरामीलाई आँखा जाच सेवा र ५०,००० शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । यसका लागि सामुदाय लक्षित कार्यक्रमहरूको साथै अन्य संघ संस्थाको सहकार्य तथा सहयोगमा आँखा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।