सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिकामा तेस्रो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा हुने उक्त प्रतियोगिता यही असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारका अनुसार प्रतियोगितामा भाग लिन इच्छुक टिमहरूले असोज २९ गतेभित्र आफ्नो टिम दर्ता गराउनुपर्नेछ । ‘हामीले खुल्ला प्रतियोगिताको रुपमा आयोजना गरेका छौँ । सिन्धुली जिल्लाभरीका स्थानिय तहहरुसँगै, छिमेकी जिल्लाबाट र देशभरबाटै सहभागीता जनाउन पाईन्छ’ अध्यक्ष सुनुवारले भन्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, दोस्रोलाई ५० हजार रुपैयाँ र तेस्रो हुने टिमलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
फुटबल प्रतियोगिता फिक्कल गाउँपालिका वडा नम्बर ५ सोल्पाठाना डाँडागाउँ खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताबाट स्थानीय युवा खेलाडीहरूको क्षमता विकास र गाउँमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्य लिइएको आयोजक समितिले जनाएको छ ।
यसैबीच, सिन्धुलीकै गोलन्जोर गाउँपालिकामा शहीद योगेन्द्र न्यौपाने (रोशन) स्मृति कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने भएको छ ।
गोलन्जोर गाउँपालिकाको आयोजनामा हुने भलिबल प्रतियोगिता कात्तिक २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ । इच्छुक टिमहरूले असोज ३० गतेभित्र दर्ता गराउनुपर्नेछ । प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार, दोस्रो ५५ हजार, र तेस्रो पुरस्कार ३५ हजार रुपैयाँ राखिएको गाउँपालिकाले जनाएको छ ।












प्रतिक्रिया