काठमाडौं ।
गत साता बाढीले क्षति पुर्याएको वीपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार राजमार्गका १९ स्थानमा डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको हो।
शुक्रबार साँझसम्ममा चौकीडाँडादेखि माम्ती क्षेत्रसम्म ट्रयाक खोली परीक्षण गरिएको थियो। राजमार्गको काभ्रे खण्डमा १६ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन बनाइएको हो।
रोशी खोलाको बाढीले करिब ४ किलोमिटर सडक कटान गरेपछि डाइभर्सन निर्माण कार्य मङ्गलबारदेखि तीव्र बनाइएको थियो। यातायात सञ्चालन गराउन रातभर काम गरिएको सडक कार्यालयले जनाएको छ।
यस राजमार्गमार्फत पूर्वी नेपालसँगको प्रमुख यातायात जोडिन्छ, जहाँ दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।











प्रतिक्रिया