दलहरूलाई इन्कार गर्ने बाटोमा नजान सरकारलाई एमालेको आग्रह

एमाले सचिवालय बैठक भोली पनि जारी रहने 

3.1k
Shares

भक्तपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८ औं सचिवालय बैठकले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान सरकारलाई आग्रह गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान र  त्यो पार लाग्ने बाटो पनि होइन भन्ने बारे बैठकमा गम्भीर छलफल भएको बताए ।

बैठकमा निष्पक्ष निर्वाचन भए लोकतान्त्रिक शक्ति एमाले निर्वाचनबाट नभाग्ने बारे समेत छलफल भएको छ । सरकार दलहरूलाई साथ लिने भन्दा पनि निषेधको बाटोमा हिँडिरहेको ज्ञवालीले बताए  ।

जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने एमालेको ठहर छ । 

नेकपा एमालेले जेनजी पुस्ताका युवाले राखेका आवाज सही हुँदाहुँदै घुसपैठियाले हिंसा मच्चाएर देशको इतिहास मेटाउने प्रयास गरेको ठहर गरेको छ । 

ज्ञवालीले बैठकमा नेतृत्व पुस्तान्तरण,हस्तान्तरण वा पुनर्गठनका विषयमा कुराहरु भएको र त्यसको टुंगो महाधिवेशनले लगाउने बताए । शनिवार बस्ने बैठकमा महाधिवेशनको प्रस्ताव गरिने समेत ज्ञवालीले जानकारी दिए ।

राष्ट्रपतिले अभिभावकीय भूमिकाका लागि सर्वदलीय बैठक राखिए पनि चुनावका लागि वातावरण बनाउने जिम्मा भने प्रधानमन्त्रीको हुने एमालेको निष्कर्ष रहेको उनको भनाई छ ।

बैठकमा धारणा राख्ने क्रममा नेताहरूका फरक विचार आए पनि भोलि शनिवार बस्ने बैठकपछि एकीकृत धारणा तयार पारेर निर्णय सार्वजनिक गरिने एमालेले जनाएको छ ।

शनिवार पुनः बस्ने बैठकले चुनाव या संसद् पुनः स्थापनाबारे औपचारिक धारणा सार्वजनिक गर्ने ज्ञवालीले बताए ।

बैठक भोली पनि जारी रहने छ ।