पटाका र लंगुरबुर्जामा प्रहरी नजर


हेटौंडा ।

तिहारको समय शुरु हुने बेलामा मकवानपुर प्रहरी सक्रिय देखिएको छ । प्रहरीले हेटौंडामा लंगुरबुर्जा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । बिहीबार राति हेटौंडा उपमहानगरपालिका–८ स्थित नमुना चोकमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हेटौंडा–८ निवासी २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भइ हाल हेटौंडा–५ बस्ने ४२ वर्षीय दीपक अर्याल, हेटौंडा–१७ घर भइ हाल हेटौंडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौंडा–९ घर भइ हाल हेटौंडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भइ हाल हेटौंडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिँदा लंगुरबुर्जाको गट्टी र खालको एक सेट र ३ लाख ९ हजार ६५ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

भन्सार छली गरी ल्याइएको २४ लाख बराबरको कपडा र प्रतिवन्धित पटाका पनि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार विहान ४ः१० बजे हेटौंडा–१५ रातोमाटेस्थित चार्जिङ स्टेशनअगाडि पूर्वपश्चिम राजमार्गमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बर गाडीलाई शंका लागेर चेक गरिएको थियो ।

प्रहरी टोलीले गाडी चेक गर्दा गाडीको पछाडि ढालाभित्र लुकाइ राखिएको भन्सार छलिएको सामग्री फेला पारेको हो । बरामद गरिएको सामग्रीमा १४ लाख बराबरको १ सय ३० थान साडी, ६ सय ९६ थान कुर्था र १ सय ७५ थान टप्स गरी १ हजार १ थान कपडा छन् । प्रतिवन्धित पटाका २ लाख रुपियाँ बराबरको फेला परेको प्रहरीको भनाइ छ ।

गाडीचालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीपकुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले गाडीसहित दुवैलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।