राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरु


काठमाडौँ।

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की सहित सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सो बैठक सुरु भएको हो ।

जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा सरकार गठन भएपछिको यो पहिलो सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री र राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महाममन्त्री गगन थापा, एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल र माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव सहभागी भएका छन् ।

त्यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र शाही र मिना लामा र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी भएका छन् ।

जनमत पार्टीको तर्फबाट डा जयकान्त राउत, जनता समाजवादी पार्टीको तर्फबाट रेनु यादव, लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नेपाल मजदुर किसान पार्टीको तर्फबाट सुनिल प्रजापति र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रेशक चौधरी बैठकमा सहभागी भएका छन् ।