‘आन्दोलनसँगै उद्यम गर्ने वातावरण पनि जल्यो’

376
Shares

कास्की ।

पोखराका उद्योगी व्यवसायीहरूले दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाहीको माग गरेका छन् । व्यवसायीले व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश दिनुपर्ने आवाज उठाएका छन् । जेन–जीको आन्दोलनमा विभिन्न व्यवसायमाथि भएको तोडफोड र आगजनीले उद्यम गर्ने सोचलाई नै जलाइएको व्यवसायीहरूको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको ‘उद्योगी व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमले क्रममा विभिन्न व्यवसायीले उद्योग र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले व्यवसाय गर्नु र नाफा कमाउनु अपराध गरेको गलत भाष्य सिर्जन गरिदिएको जिकिर गरे । जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकाहरूलाई दोषी करार गर्ने काम भएको व्यवसायीहरूको ठम्याइ थियो ।

‘धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरू सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले भन्नुभयो ।

उहाँले सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको स्पष्ट पार्नुभयो । अध्यक्ष कार्कीले आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि आगजनी, लुटपाट र तोडफोडलाई चाहिँ अपराधको संज्ञा दिनुभयो । ‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरू क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन । समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन,’उहाँले थप्नुभयो ।

उद्योगी व्यवसायीहरूसँग मन कमजोर नबनाउन आग्रह गर्दै उहाँले अपराध कर्ममा संलग्नहरूलाई कडाभन्दा कडा कारवाही गरी क्षति भोगेका व्यवसायीहरूलाई राहतको लागि माग गर्नुभयो । जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा कठीन दिन आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

निषेध र प्रतिशोधको राजनीति सुरु भएको छ । एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ ।’ उहाँको भनाइ थियो । दण्डहीनताको अन्त्य हुनैपर्ने उहाँको जोडथियो ।

जेन–जी आन्दोलनको क्रममा जलाइएको होटल सरोवरका संचालक प्रतीकराज पहारीले भवन जल्नुको पीडा र डर त छँदैछ तर त्यसभन्दा पनि ठूलो डर व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा बढी भएको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोडदिनुभयो । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उहाँको भनाइ थियो ।

पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोख्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गर्नुभयो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारवाहीको माग अघि सार्नुभयो । अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनस्र्थापनाका कार्य छिटो हुनुपर्नेमा जोडदिनुभयो ।