आन्दोलनमा भएको क्षतिको सवा १ अर्ब बीमा भुक्तानी


काठमाडौ ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको बीमाको सवा अर्ब भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बुधबारसम्म अग्रिम भुक्तानीसहित १ अर्ब २९ करोड १९ लाख रुपियाँ बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

कुल १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा असोज २२ गतेसम्म ३ हजार ९९ वटा बीमा दाबीमा २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी परेको छ । प्राधिकरणले क्षति मूल्यांकनका लागि २ हजार ७०६ जना सर्भेयर खटाएको छ । तीमध्ये ३७४ वटा सर्भे प्रतिवेदन बीमा कम्पनीहरूमा पेश भइसकेका छन् ।

प्राधिकरणका अधिकारीहरूका अनुसार आन्दोलनका क्रममा परेका बीमा दाबीमा नयाँ दावी थपिँदै गएको छ भने केही प्रारम्भिक दाबी सर्भेयरको मूल्यांकनपछि घट्दै जाने क्रममा छन् । यसअघि बीमा प्राधिकरणले यो रकम २३ अर्ब ३९ करोड रुपियाँ रहेको जनाएको थियो, तर पछिल्लो अद्यावधिकमा केही दाबी घटेर र केही नयाँ थपिएर हालको परिमाण पुगेको हो ।